पर्वत कोरोना अस्पतालमा थप एक महिला आइसोलेसनमा भर्ना

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पर्वतको कुस्मास्थित कोरोना अस्थायी अस्पतालमा शुक्रबार एक महिलालाई भर्ना गरिएको छ । पर्वतको बिहादी गाउँपालिकाकी ३० बर्षीया महिलालाई कोरोनाको लक्षण देखिएपछि थप परिक्षणका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो ।

 

बिरामी महिलामा केही दिन रुघाखोकी र देखि १ सय २ देखि १ सय ३ डिग्री सम्म ज्वरो आएको र सिटामोटल खाँदा समेत ज्वरो घटेको छैन । बिरामीमा कोरोनाको लक्षण संग मिलेका कारण थप परिक्षणका लागि आइसोलेसनमा राखिएको पर्वत कोरोना अस्थायी अस्पतालले जानकारी दिएको छ । भर्ना गरिएकी बिरामीका श्रीमान १२ दिन पहिले भारतबाट फर्कनु भएको थियो ।

 

श्रीमानमा भने रुघाखोकी, ज्वरो जस्ता सामान्य लक्षण समेत देखिएका छैनन । कहिलेकाही संक्रमित ब्यक्तिमा लक्षण नदेखिएपनि भाइरस अरुमा संक्रमण हुन सक्ने पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डन्ट डा. शिशिर देबकोटाले बताउनुभयो । बिरामीको स्वाब शनिबार परिक्षणका लागि पठाउने तयारी भैरहेको छ ।

 

यसअघि कोरोना संक्रमित युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका युवालाई पनि आइसोलेसनमा राखिएको छ । कुस्माबजारमा आफन्तकोमा बस्दै आएको अबस्थामा आइसोलेसनमा राखिएका युवाको पनि स्वाब शुक्रबारै परिक्षणका लागि पठाइसकिएको छ । रिर्पोट आउन भने बाँकी छ ।