सञ्चारमाध्यम र संचारकर्मीलाई स्यानीटाइजर

0
Shares

शिक्षा पन्त,लमजुङ  ।

जिल्लामा सञ्चालित सञ्चारमाध्यम र स्थानीय तथा राष्ट्रिय स्तरको सञ्चार माध्यममा आवद्ध क्रियाशिल पत्रकारहरुलाई स्यानीटाइजर प्रदान गरिएको छ । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ लमजुङले सोमबार कोरोना भाइरसको बढ्दो जोखिमबाट बचेर राज्यको चौथो अंगको रुपमा अविचलित दायित्व निर्वाह गर्न आग्रह गर्दै स्यानीटाइजर प्रदान गरेको हो ।

कोरोनाको संक्रमण विश्वभर फैलिएसँगै उच्च जोखिम बढेकाले जिल्लामा क्रियाशिल पत्रकारलाई पहिले आँफु सचेत बनेर मात्रै जनतालाई सचेत बनाउन स्यानीटाइजर प्रदान गरिएको नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङले बताउनुभयो । ‘कोरोनाको जोखिम र सन्त्रासपछि सरकारी कार्यालय, यातायात लगायतका अधिकाशं बन्द भएका छन्,’ उहाँले भन्नुभयो,‘तर यस्तो राष्ट्रिय संकटको बेला मिडिया बन्द गरेर होइन, हामी सचेत बनेर सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ, यो भुमिका समाज र देशले खोजेको छ ।

त्यस्तै लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न आवश्यक तयारी र भुमिकामा सबैको हातेमालो आवश्यक भए पनि सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका विशेष रहेको बताउनुभयो ।

विश्वरभर महामरीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढेको र अरु सबैलाई सचेत बनाउने पत्रकार स्वयम् सबै भन्दा बढि जोखिममा भएकाले सचेतनाका लागि कोरोना विरुद्ध पत्रकार महासंघसँग हातेमालो गरिएको प्रजिअ खड्काले बताउनुभयो । जिल्लाका १२ वटा सञ्चार माध्यमका संस्थाका प्रतिनिधिलाइ र राष्ट्रिय मिडियामा कार्यरत पत्रकारलाई स्यानीटाइजर वितरण गरिएको नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङको भनाई छ ।