भक्तपुरका आठ अस्पतालमा २७ शैयाको आइसोलेसन वार्ड तयार

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस(कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै भक्तपुरका ७ वटा अस्पतालमा २७ शैयाको आइसोलेसन वार्ड तयार गरिएको छ । हाल भक्तपुर अस्पताल, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल,मध्यपुर अस्पताल,काठमाडौं मेडिकल अस्पतालको दुवाकोट शाखा, डा. इवामुरा मेमोरियल, नगारिक र सिद्धि स्मृति अस्पताल ,मितेरी अस्पताल समेतमा गरी २७ शैयाको आइसोलेसन वार्ड तयार गरिएको हो ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेसन शैया बढाउन सकिने गरी तयारी अघि बढाइएको जानकारी दिनुभयो ।भक्तपुर अस्पतालले नै १९ शैयाको सिंगो मेडिकल वार्डलाई आइसोलेसन वार्डमा परिणत गर्ने गरी कार्य अघि बढाइएको डा.गौतमले बताउनुभयो ।

मेसु डा. गौतमले आवश्यक परे त्यहींबाट संक्रमितको सम्पूर्ण स्वास्थ्य परीक्षणको व्यवस्था समेत गर्ने जानकारी दिनुभयो ।गौतमका अनुसार अस्पतालमा संक्रमितहरु आइहालेको अवस्थामा उचित उपचारको लागि आवश्यक स्वास्थ्य जनशक्तिलाई अस्पतालमै बस्ने व्यवस्थासमेत गरिएको छ ।