मुक्तिनाथ र कागबेनीमा तीर्थयात्रीलाई रोक


दुर्गाप्रसाद शर्मा, पर्वत

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणलाई मध्यनजर गर्दै हिन्दू र बौद्धमार्गीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा तीर्थालुलाई प्रवेशमा रोक लगाइएको छ।

हिमालपारिको जिल्ला मुस्ताङमा रहेको पवित्र धार्मिकस्थल मुक्तिनाथमा श्रद्धालु आउने क्रम नरोकिएपछि मुक्तिनाथ विकास समितिले सोमबारदेखि लागू हुने तीर्थालुलाई प्रवेशमा रोक लगाएको छ।

मुक्तिनाथ मन्दिर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं १ मा रहेको मुक्तिनाथ मन्दिर र वारागुङ मुक्तिक्षेत्र–४ मा रहेको कागबेनी श्राद्धस्थल प्रवेशमा तीर्थालुलाई रोक लगाइने निर्णय गरेको विकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बेदप्रकाश अर्यालले जानकारी दिनुभयो।

नेपाल तथा ठूलो संख्यामा भारतीय हिन्दू धर्मावलम्बीहरू चैत्र महिनामा श्राद्ध र मन्दिरको दर्शनका लागि आउने गरेका छन्। ‘दैनिक सयौं तीर्थालु आउन थालेपछि संक्रमणको जोखिम बढेका कारण सोमबारदेखि प्रवेशमा रोक लगाइएको हो’ –प्रजिअ अर्यालले भन्नुभयो।

मुक्तिनाथमा चैत्रको कृष्णपक्षमा र असोजमा सोह्रश्राद्धमा सबैभन्दा बढी हिन्दू धर्मावलम्बीहरू पितृ उद्धारका लागि जाने गर्दछन्।

चैत ११ गते परेको औंशीमा सबैभन्दा बढी तीर्थालुहरू कागबेनी र मुक्तिनाथमा पुग्ने गरेका छन्। मुक्तिनाथ मन्दिरमा रहेका १ सय ८ धारामा स्नान गर्ने तथा काली र गण्डकीको संगम कागबेनीमा पृतिलाई श्राद्ध गर्नेहरूको भीड लाग्दछ।

सोह्रश्राद्धमा आफ्ना सात पुस्तासम्मका पितृलाई तर्पण दिने चलन छ। दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका १ सय ८ धाराबाट बगेर आएको गण्डकीको संगम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठुलो फल मिल्ने कुरा शास्त्रहरूमा उल्लेख छ।

बराह पुराण, स्कन्द पुराणलगायतका ग्रन्थहरूमा कागबेनीमा श्राद्ध गर्दा पाइने फलका बारेमा उल्लेख भएको छ। मुक्तिनाथ र कागबेनीमै पुगेर एकपटक भए पनि आफ्ना दिवंगत पितृको उद्धारका लागि पिण्डदान गर्न नेपाल र भारतका हजारौं धर्मावलम्बीहरू आउने गर्दछन्।