आफ्नो चिहान आफैँ बनाए कुरुम्बाङ दम्पतीले


गणेश साम्पाङ, पाँचथर

आफू मरेपछि गर्ने संस्कारका बारेमा आफ्नो परिवारका सदस्यलाई भन्ने मान्छे निकै छन् तर जीवित हुँदै आफू मरेपछि आफ्नो लाश गाड्ने ठाउँ चिहान बनाउने मान्छे बिरलै होलान्।

पाँचथरको फालेलुङ गाउँपालिका–८ याङनामको सुर्के नागीका मनप्रसाद कुरुम्बाङ र बुधमती नेम्बाङले १ लाख १२ हजार खर्च गरेर आफ्नो चिहान बनाएका छन्।

आफू जीवित हुँदै आफ्नो छोराछोरीलाई म मरेपछि मेरो लाश यो ठाउँमा यसरी गाड्नु भनेर भन्छन् तर उनीहरूका छोराछोरीले आमाबाबुको विचारअनुसार जिम्मेवारी बहन नगरेको थुप्रै घटना आँखाले देखेका छौं आफू मरेपछि त्यस्तो नहोस् भनेर आफूहरूले जीवित हुँदै आफ्नो चिहान बनाएको बताउनुहुन्छ।

हामी मरेपछि हामीलाई संस्कारअनुसार शव गाड्ने चलन छ। त्यो बेला हाम्रा मलामीहरूलाई कुनै दुःख नहोस् भनेर सिमेन्टको पक्की चिहान बनाएको कुरुम्बाङ बताउनुहुन्छ। दुईवटा शव लगाउन मिल्ने प्वाल भएको पक्की चिहानको माथि कर्कटपाताको छानासमेत लगाएका छन्।

बिहे गरेको केही समयअघि नै जेठी श्रीमतीको मृत्यु भएपछि अहिले कान्छी श्रीमती र कान्छा छोरासंग बस्दै आउनुभएको छ। कुरुम्बाङ दम्पतीको जीवित हुँदै चिहान बनाउने कामलाई केही व्यक्तिले अनौठो मानेको भए पनि धेरैले राम्रो काम हो भन्ने गरेको बताउनुहुन्छ कुरुम्बाङ।

मेरो जेठी श्रीमती पनि थियो पहिले नै मृत्यु भइसकेको हो तर चिहान बनाउने सोचपछि मात्र आएको हुनाले चिहानको माथिल्लो भागमा ३ वटा चिहानको आकार बनाएको वहाँ बताउनुहुन्छ।

मान्छेको मृत्यु पछि गरिने कतिपय काम जीवित हुँदै गर्नुलाई असुभ मान्ने गरिएको भए पनि बुबाआमाको इच्छाविपरीत उहाँहरूको सो कार्यको आफूले बिरोध नगरेको र उहाँहरूको त्यो कामको मिश्रित प्रतिक्रिया अरू व्यक्तिहरूबाट आउने गरेको कुरुम्बाङका कान्छा छोरा यामबहादुर कुरुम्बाङ बताउनुहुन्छ।

गाउँघरमा कतिपय मान्छेहरू मरेपछि उनीहरूको शवलाई जनावर मरेपछि गाडेजस्तो गरेर गाडेको पनि देखियो हामी त मान्छे चेतनशील छौं हाम्रो शरीरलाई जनावरजस्तो गरेर राख्न हुन्न भन्ने विचार आयो करिब १५ दिन सोचेर मैले यो निर्णय गरेको हो कुरुम्बाङ बताउनुहुन्छ।

२०७३ सालमा निमार्ण भएको सो चिहानको वरिपरि बेलाबेलामा गएर सफा गर्ने कामसमेत गर्ने गरेको उहाँ बताउनुहुन्छ।

कुरुम्बाङ दम्पतीले मृत्यु हुनुभन्दा अघि नै चिहान निमार्ण गर्नुलाई समाजमा निकै अनौठो र नयाँ विषय भएको हुनाले यो विषयमा धेरैले चासो राख्ने गरेको स्थानीय युवा उपेन्द्र एक्तेन लिम्बू बताउनुहुन्छ।

यस्तो कार्य गर्ने मान्छे समाजमा कमै हुन्छन् उनीहरूको यो अनौठो कार्यले कुरुम्बाङ दम्पती चर्चामा समेत छन् एकतेन भन्नुहुन्छ।