उच्चस्तरीय सुरक्षा तालिम सम्पन्न


काठमाडौ (नेस) ।

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा गत फागुन १९ गतेदेखि सञ्चालन गरेको सि.सं. ५ उच्च स्तरीय सुरक्षा तालिम बिहीबार शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले तालिमको समापन गर्नु भएको छ ।

उपरथी हमालले तालिममा सहभागीहरुले राष्ट्रिय सुरक्षा सम्बन्धि विविध आयामबारे यथेष्ट ज्ञान लिनु भएको विश्वास व्यक्त गर्नु भएको थियो ।

तालिमबाट प्राप्त ज्ञानले भविष्यमा राष्ट्रिय सुरक्षा सम्बन्धि निती निर्माण तथा कार्यान्वयनमा सहज हुने विचार व्यक्त गर्नु हुँदै सहभागीहरुलाई बधाई दिनु भएको थियो । नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा २२ जनाले उक्त तालिम सम्पन्न गर्नु भएको छ ।

हाल विश्वका विभिन्न राष्ट्रहरुमा फैलिरहेको कोरोना भाईरसको कारण नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान जारी गरे सँगै उक्त भाईरसको जोखिमलाई मध्य नजर गरि समापन समारोहमा अन्य विशिष्ट व्यक्तिहरु तथा पाहुनाहरुलाई सहभागी नगराई तालिमका सहभागीहरुको मात्र उपस्थितीमा तालिमको समापन गरिएको हो ।