सफाइ अभियानः ४ महिनामा ७ किलोमिटर खोला सफाइ


नेपाल समाचारपत्र,  विराटनगर
सिंघीया खोला सफाइ अभियानअन्तर्गत हालसम्म ७ किलोमिटर जलक्षेत्रको सरसफाइ भएको छ। अभियानको १५ दिने कार्यतालिका अन्तर्गत हालसम्म घिनाहाघाटदेखि तीनपैनीसम्मको खोला क्षेत्रको सफाइ सम्पन्न भएको हो।
मंसिर २१ बाट शुरू भएको सिंघिया खोला सरसफाइ अभियानलाई निरन्तरता दिँदै हालसम्म जलक्षेत्र र खोला आसपासका क्षेत्रको सरसफाइ भएको छ। प्रत्येक १५ दिनमा सञ्चालन हुने सरसफाइअन्तर्गत शनिबार विराटनगर–१ र २ को सिमानामा रहेको धनावत घाटदेखि ओशो आश्रमस्थलसम्मको  सरसफाइ गरिएको छ।
पछिल्लो सफाइमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेल, १९ नम्बर वडाध्यक्ष बद्रिनारायण सरदारसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत विभिन्न स्वयंसेवी संघ÷संस्था र सर्वसाधारण सरसफाइ अभियानमा सहभागी भएका थिए।
अभियानको छैटौं कार्यदिनअन्तर्गत उक्त क्षेत्रको सरसफाइ सम्पन्न भएको विराटनगर २ का वडाध्यक्ष कुमार पोखरेलले बताउनुभयो। खोलालाई फोहर विसर्जन क्षेत्रका रूपमा प्रयोग गरिएका कारण जल र आसपासका क्षेत्र प्रदूषित भएपछि प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले विभिन्न ५ वटा पालिकासँग सहकार्य गर्दै सिंघिया खोला सफाइ अभियान शुरू गरेको हो।
मन्त्रालयको समन्वयमा शुरू भएको सरसफाइ अभियानमा बूढीगंगा, ग्रामथान, कटहरी, जहदा गाउँपालिका र विराटनगर महानगरपालिकाले हातेमालो गर्दै आएका छन्।
पहिलो चरणमा १० किलोमिटर खोला क्षेत्रको सरसफाइ गर्ने लक्ष्यअनुसार अघि बढेको अभियानमा दिनानुदिन सरोकारवालाको सहकार्य बढ्दो र उत्साहजन रहेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो।
सिंघिया खोला सरसफाइ अभियान चलिरहँदा सरोकारवालाले १५ दिनमा सरसफाइ गर्दै जाने तर गैरजिम्मेवार र सचेतना अभावका कारण सफा गरिएको क्षेत्रमा फेरि फोहर फाल्ने प्रवृत्तिसमेत देखिएको छ।
त्यस्तो प्रवृतिलाई निरुत्साहित गर्न कडा नियम ल्याइएको छ। सडक र खोला क्षेत्रमा जथाभावी फोहर फाल्ने व्यक्तिलाई १ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने गरी नियम ल्याइएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो।
चुरे क्षेत्रबाट बगेर आउने स–साना खोला र सिमसारको पानी मिसिएर सिंघीया खोला बगेको छ। विराटनगर महानगरपालिकासहित ग्रामथान, बूढीगगा, कटहरी, जहदा गाउँपालिका एक अर्कोलाई सीमा निर्धारण गर्ने कामसमेत यही खोलाले गरेको छ। यी सबै पालिकाको किनार यसको बहने बाटो हो