३ हजार ८ सय १३ विद्यार्थी सहभागी हुने


जाजरकोट, (नेस) 

केही वर्ष पहिले फालमे ढोका मानिने माध्यामिक शिक्षा परीक्षा (एसइई) यस वर्ष चैत ६ गतेदेखि शुरु हुँदै छ।

एसईईको सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटले जनाएको छ। यस वर्ष जाजरकोटबाट परीक्षामा छात्रा १ हजार ९ सय ९९ सय र छात्र १ हजार ८ सय १ जना गरी जम्मा ३ हजार ८ सय १३ जना नियामिततर्फ परीक्षामा सहभागी हुने भएका छन्। त्यस्तै  ग्रेटवृद्धितर्फ छात्रा ९६ र छात्र १ सय गरी जम्मा १ सय ९६ जना परीक्षार्थीले एसईई परीक्षा दिने भएका छन्।

परीक्षा सञ्चालनका लागि जाजरकोटमा २१ वटा केन्द्र रहेका छन्। २१ वटा केन्द्रमा २१ केन्द्राध्यक्ष, ३० सहायक केन्द्राध्यक्ष १ हजार ६ सय २० निरीक्षक ६ सय ९२ सहयोगी र परीक्षा सहायक ३७ जनालाई तोकेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख अमृता अधिकारीले बताउनुभयो।

जाजरकोट सदरमुकामदेखि टाढाको दूरीमा रहेका परीक्षा केन्द्रहरूमा जिल्ला प्रहरी कार्यालयको सहयोगमा एसईई परीक्षाका सामग्री पठाउने तयारी भएको र कतिपय स्थानका उत्तरपुस्तिका पठाइसकेको तथा ५ गतेसम्म सबै परीक्षा केन्द्रमा पठाइसक्ने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख अधिकारीले बताउनुभयो।

एसईईलाई मर्यादित र व्यवस्थित रुपले सञ्चालन गर्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा अनुगमन समिति गठन भएको छ। उक्त समितिले परीक्षाको समयमा विद्यार्थीहरूलाई सहयोग गरेको पाएपछि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष निरीक्षक सहयोगी जो–कोहीलाई कडाभन्दा कडा कारबाही गर्ने परीक्षा अनुगमन समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो।

जाजरकोटका २१ वटा केन्द्रमध्ये सबैभन्दा धेरै ३ सय २ जना परीक्षार्थी त्रिभुवन माध्यामिक विद्यालय दल्ली केन्द्रबाट एसईई परीक्षा दिने भएका छन् भने सबैभन्दा कम १ सय ८ जना विद्यार्थी वीरेन्द्र–ऐश्वर्य माध्यामिक विद्यालय जुगा थापाचौरबाट दिने भएका छन्।