ओखलढुगांका चौंरी रसुवासम्म


ओखलढुंगा, (नेस)

उच्च हिमाली भेगमा पालिने चौंरीगाई ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाबाट नेपालको विभिन्न भागका चौरीपालक कृषकले लाने गरेको पाइएको छ।

त्यहाँबाट निकासी हुने चौंरीगाई सोलुखुम्बु, सिन्धुपाल्चोक र ताप्लेजुङदेखि रसुवासम्म बेचबिखन हुने गरेको पाइएको हो। चालू आर्थिक वर्षमा यो गाउँपालिकाका विभिन्न भागबाट १ सय ४८ वटा चौंरीगाई अन्यत्र बेचबिखन भएको खिजीदेम्बा गाउँपालिकाको तथ्यांकमा उल्लेख छ।

ब्याउने अवस्थामा रहेका चौंरीगाईलाई ४० देखि ४५ हजार, दुहुनो चौंरीलाई ५० देखि ५५ हजार र याकलाई ९० हजारदेखि १ लाख रुपियाँसम्म पर्ने खिजीदेम्बा ६ चित्रेका चौरीपालक कृषक लाक्पा गेल्बु शेर्पाले बताए। चौंरीपालक कृषकहरूले चौरीको दूध, घिउ र छुर्पीजस्ता पदार्थ उत्पादन गरी चौंरीबाट आम्दानी लिने गरेका छन्। गाउँपालिकाले चौंरी निकासी गर्नेहरूबाट प्रतिचौंरी ५ सय रुपियाँका दरले राजस्व लिने गरेको छ।

चौंरीपालनबाट मनग्य आम्दानी हुने भए पनि चरिचरणका लागि क्षेत्र निर्धारण नगरिँदा यो व्यवसायमा संकटमा पर्दै आएको छ। गाउँपालिकाले चौंरीपालक कृषकलाई सहयोग गर्ने योजना रहेको भए पनि माग नआउँदा सहयोग गर्न नसकिएको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले बताउनुभयो। कृषकले आवश्यकताअनुसारको माग गरेमा सहयोग गरिनेसमेत अध्यक्ष रोकाको भनाइ छ।