विद्यार्थीले पाएनन् छात्रवृत्ति


रौतहट, (नेस)

गत वर्षको छात्रवृत्तिको रकम चन्द्रपुर नगरपालिकाभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले नपाएको खुल्न आएको छ। नेपाल सरकारले दिँदै आएको छात्रवृत्ति रकम चन्द्रपुर नगरपालिकाको लापरबाहीका कारण नगरभित्रका विद्यार्थीले नपाएको पाइएको हो।

चन्द्रपुर नगरपालिकाभित्र माध्यमिक र आधारभूत गरी ४६ वटा विद्यालयमा अध्ययन गर्ने छात्रा र दलित छात्रले गत वर्षको छात्रवृत्ति रकम पाउनबाट वञ्चित भएका हुन्।

गत वर्ष ५५ लाख ८५ हजार रुपियाँ नगरभित्रका विद्यालयमा अध्ययन गर्ने लक्षित विद्यार्थीको रकम फ्रिज भएको जनाइएको छ। यस आर्थिक वर्षमा समेत छात्रवृत्ति रकम यतिखेरसम्म वितरण हुन सकेको छैन।

कक्षा १ देखि १२ कक्षासम्मका छात्रा र दलित छात्रका लागि प्रतिविद्यार्थी ४ सय रुपियाँ छात्रवृत्ति प्रदान गर्नुपर्ने युवा, रोजगार, शिक्षा फाँटका अधिकृत दीपेन्द्रकुमार मण्डलले बताउनुभयो।

नीतिअनुरूपको छात्रवृत्ति वितरण हुन नसकेपछि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभाकहरू निराश भएका देखिन्छन्। नेपाल सरकारले गरिब, एवं दलित विद्यार्थीलाई शिक्षामा आकर्षित गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम ल्याएको हो।