‘डुबान क्षेत्र व्यवस्थित गर्छौं’


नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ढल निकास प्रणालीमा सुधार गरेर काठमाडौं महानगरको बर्खे डुबान समाधान गर्ने बताउनुभएको छ। मंगलबार २८ वडाअन्तर्गत पर्ने बागबजार र पुतलीसडक क्षेत्रका स्थानीयसँग योजनाका विषयमा कुरा गर्नुभएको छ।

वडा २८ का स्थानीयवासीले एउटै ठूलो योजना अघि बढाउँदा टुकुचा खोलाले नधानेर झन् डुबान पार्ने हो कि भन्ने चासोसहित मेयर शाक्यसँग विकल्पसहितको योजना अघि बढाउन आग्रह गरेका थिए।

त्यस क्रममा मेयर शाक्यले टुकुचा, पुतली सडकसहित आसपास क्षेत्रको विद्यमान भौगोलिक सतह, ढल प्रणाली तयार गर्दाका प्राविधिक पक्ष र स्थानीयको मागलाई विश्लेषण योजना कार्यान्वयनको निर्णयमा पुग्ने बताउनुभयो। ‘पुतलीसडकसँगै जमल पनि डुबान हुने क्षेत्र हो। यसलाई पनि हामी व्यवस्थित गर्छौं’ –मेयर शाक्यको भनाइ छ।

‘पुतलीसडक क्षेत्रमा वडा ३ महाराजगन्जदेखि वडा १ नक्साल हुँदै कमलपोखरी र डिल्लीबजारतर्फबाट बर्खे पानीको भेल आएर सानोतिनो पानी पर्नेबित्तिकै डुबान हुने गरेको छ।

यसको समाधान भनेको बर्खे सबै पानी अट्ने ढल प्रणाली निर्माण गर्नु नै हो’, महानगरको भौतिक पूर्वाधार विभागका प्रमुख राम थापा भन्नुहुन्छ– ‘पुतलीसडक चोकमा ठूलो मंगल निर्माण गरेर त्यस माथिबाट आएको पानीलाई समानान्तर ढल प्रणालीबाट एकातिर बागबजारको मुखतर्फ र अर्कोतिर पुतलीसडक, शंकरदेव हुँदै तल्लो भेगमा निकास दिन सकिन्छ।’

छलफलमा वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा नं २८ का अध्यक्ष भाइराम खड्गी र वडा नं ३० का अध्यक्ष दलबहादर कार्कीसहित सरोकारवाला कार्यालयका प्रतिनिधिको सहभागिता थियो।