एसईई परीक्षाबाट ५१ जना वञ्चित


नेपाल समाचारपत्र, तनहुँ

चैत्र ६ गतेबाट शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनबाट ५१ जना विद्यार्थी वञ्चित भएका छन्। परीक्षा दिनका लागि फाराम भरेकामध्ये ती विद्यार्थी वञ्चित भएका हुन्।

केहीले फाराम भरेर पनि परीक्षा नदिने तर केहीले भने विद्यालय छाडेर गएकाले परीक्षाबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख रमाकान्त शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार सानो उमेरमा विवाह र वैदेशिक रोजगारीका लागि गएकाले परीक्षा दिनबाट उनीहरू वञ्चित भएका हुन्।

‘ग्रामीण क्षेत्र मात्रै नभएर शहरी क्षेत्रका विद्यार्थीसमेत विवाह गर्ने, अलिकति उमेर बढेपछि रोजगारीका लागि जाने गर्दा उनीहरू वञ्चित भएका छन्, विगतका वर्षमा भन्दा यस वर्ष एसईई परीक्षा दिने विद्यार्थी संख्या घटेका छन्’ –शर्माले भन्नुभयो। प्रविधिको प्रयोगसँगै विकृतिले गर्दा छिटो विवाह गर्ने प्रचलन बढेपछि एसईई परीक्षा नै नदिएर छुटेको उहाँले बताउनुभयो।

मुख्य रूपमा गरिबीले गर्दा अध्ययन गर्दागर्दै परदेश पस्ने प्रचलनले गर्दा पनि केहीले पढाइलाई निरन्तरता दिन सकेका छैनन् भने केहीको दुर्घटनामा परेर ज्यान गएको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ।

शिक्षा विकास समन्वय इकाइ तनहुँ परीक्षा शाखाका प्रमुख विश्वप्रकाश रेग्मीका अनुसार ३४ छात्रा र १७ छात्र गरी ५१ जनाले विद्यालय छाडेका छन्।

महिला केन्द्राध्यक्ष

माध्यमिक शिक्षा परीक्षामा तनहुँबाट तोकिएको केन्द्राध्यक्षमध्ये एक जनामात्रै महिला केन्द्राध्यक्ष नियुक्त गरिएको छ। कुल २४ केन्द्राध्यक्षमध्ये एक जनामात्रै महिला केन्द्राध्यक्ष नियुक्त गरिएको शिक्षाविकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ।

आँबुखैरेनी गाउँपालिकास्थित मित्रता माध्यमिक विद्यालय परीक्षा केन्द्रको केन्द्राध्यक्षका रुपमा विद्यालयकी प्रधानाध्यापक सरितादेवी पौडेललाई नियुक्त गरिएको होे।

केन्द्राध्यक्षबाहेक परीक्षामा खटिने अन्य कसैले पनि मोवाइलफोन परीक्षा केन्द्रभित्र लैजान निषेध गरिएको छ। निरीक्षक र सहायक केन्द्राध्यक्षका मोवाइल सेट प्रश्नपत्रको प्याकेट खोल्नु भन्दा पहिला स्विचअफ गरी झोलामा राखेर केन्द्राध्यक्षको नियन्त्रणमा राख्नुपर्ने प्रावधान निर्धारण गरिएको छ।

कारागारबाटै एसईई

जिल्ला कारागार तनहुँबाट एक जना थुनुवा एसईईमा सहभागी हुँदै छन्।  हाल कारागार कार्यालय दमौलीमा थुनामा रहेको उक्त परीक्षार्थीलाई सत्यवती माध्यमिक विद्यालयमा परीक्षा दिने व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।

माध्यमिकशिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ (संशोधनसहित) को परिच्छेद ५ नियम ‘क’ अनुसार परीक्षार्थीलाई सत्यवती मावि परीक्षा केन्द्रवाट प्रश्नपत्र र उत्तरपुस्तिकालगायतको सामग्री व्यवस्थापन गर्ने व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख रमाकान्तशर्माले जानकारी दिनुभयो।