प्रदेशसभा बैठक: संसदीय छानबिन समिति गठन गर्न माग


नेपाल समाचारपत्र, बुटवल

कलाकार नारायण लेकालीको अडियो रेकर्ड र बेमौषमी असिनापानीले पारेको क्षतिका बारेमा यथार्थ छानविन गर्न संसदीय छानविन समिति गठन गर्न सांसदहरूले माग गरेका छन्।

प्रदेशसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरूले कोरोना भाइरसभन्दा पनि कडारुपमा आएको बताउँदै त्यस विषयमा संसदीय छानविन समिति गठन गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। त्यस्तै सभामा कोरोना भाइरस संक्रमण भित्रिन नदिनका लागि सरकारले गरेको तयारीका बारेमा समेत जानकारी माग गरिएको थियो।

गत फागुनको २१ गतेदेखि बुटवलमा सञ्चालन भएको प्रादेशिक औद्योगिक प्रदर्शनी सत्ता र शक्तिको बलमा आफूले बन्द गराएको भन्दै प्रदेश पाँचका उद्योगमन्त्री लीला गिरी र सामाजिक विकासमन्त्री सुदर्शन बरालसहित रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसमेतलाई पोलेका थिए।

बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरूले उक्त अडियोका विषयमा सत्यतथ्य छानबिनका लागि संसदीय छानविन समिति गठन गर्न माग गरेका हुन्।

प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य वीरबहादुर रानाले उक्त अडियोमा प्रदेश सरकारका मन्त्रीहरू तथा प्रमुख जिल्ला अधिकारीको समेत मान हानी भएको उल्लेख गर्दै यति गम्भिर बिषयमा सरकारले मौनता नसाँध्न आग्रह गर्नुभयो।

आफूलाई अरबपति बताउने नारायण खनाल (लेकाली) ले सत्ता र शक्तिको आडमा मेला बन्द गराएको उक्त अडियोमा प्रस्ट रहेको बताउँदै सत्यतथ्य छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्न आग्रह गर्नुभयो।

त्यस्तै अर्का प्रदेशसभा सदस्य फकरुद्दिन खाँनले सत्ता र शक्तिका आडमा आतंक मच्चाउन छुट कसैलाई पनि नभएको बताउँदै मन्त्रीहरू तथा प्रमुख जिल्ला अधिकारीलाई जोडेर गरिएका शब्दावलीप्रति खेद प्रकट गर्नुभयो।

उहाँले सत्यतथ्य छानविन गरेर तत्काल कारवाहीको दायरामा ल्याउन पनि सरकारसंग माग गर्नुभयो। उहाँले कोरोना भाईरसका कारण मुलुकको अर्थतन्त्रसंगै उद्योग व्यबसाय तथा बैंक तथा बित्तिय संस्थामा समेत नकारात्मक असर गरेको भन्दै सरकारले नेपाल राष्ट्र बैंकसंग समन्वय गरेर राहतको व्यबस्था मिलाउन आग्रह गर्नुभयो।

त्यस्तै प्रदेश सभासदस्य डिल्लीबहादुर चौधरीले कानुन निर्माणसंगै कार्यान्वयनमा जोड दिदैं हालसम्म कति कानुन कार्यान्वयनमा आएका छन् त्यसको सरकारसंग जवाफ माग गर्नुभयो। उहाँले बिकासका सवालमा प्रदेश सदस्यलाई जानकारी गराई काम अंगाडि बढाउन सरकारसंग माग गर्दै दाङ्मा भएको खुकुरी प्रहारको छानविन गर्न आग्रह गर्नुभयो।

प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले लुम्बिनी बिकास कोषको गुरु योजना विपरित काम भएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले स्मार्ट एजुकेसन बोर्डको नाममा वितरण गरिएको अनुदान रकममा अनियमिता भएको औंल्याउँदै छानविन गर्न माग गर्नुभयो।

प्रदेश सभामा बोल्दै प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, कुलप्रसाद पोखरेल, धमकली चौधरी, धर्मबहादुर लाल श्रीवास्तव, बिजयबहादुर यादव लगायतले प्राकृतिक प्रकोपले पारेको क्षतीको यथार्थ विवरण संकलन गरि उचित क्षतीपूति तथा राहतको व्यबस्था गर्न सरकारसंग माग गर्नुभएको थियो।

बेमौषमी असिना पानी तथा चट्यांकका कारण अर्घाखाँचीको सीतगंगा नगरपालिकामा १ जना, भूमिकास्थान नगरपालिकामा १ जना र बर्दियामा सासुबहारी गरी ४ जनाको ज्यान गएको थियो भने किसानले लगाएको बालिनालीमा समेत क्षती पु¥याएको थियो।

सामाजिक बिकासमन्त्री सुदर्शन बरालले कोरोना भाईरस भित्रिन नदिनकालागि सरकारको तर्फबाट भएको तयारीका बारेमा जानकारी गराउनुभएको थियो। उहाँले प्रदेशका १५ वटा अस्पतालमा ८५ वटा आईसोलेशन बेड तयार भएको जानकारी गराउँदै भारतसंग जोडिएका तराईका ६ जिल्लाका १५ नाका र २ वटा बिमानस्थलमा हेल्थडेस्क स्थापना गरि स्क्रिनिङ् गर्न सुरु गरिएको जानकारी गराउनु भयो।