माइतीघर मण्डला क्षेत्रको सुधार गरिने


नेपाल समाचारपत्र, काठमाडौं

माइतीघर मण्डला क्षेत्रको सुधारका लागि काठमाडौं महानगरपालिकाले कृषि विकास बैंकसँग सम्झौता गरेको छ। मण्डला क्षेत्रको मर्मत, सौन्दर्यीकरण तथा आधुनिकीकरण गर्ने विषयमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका तर्फबाट कायममुकायम उपमहाप्रबन्धक धु्रवचन्द्र गौतमले हस्ताक्षर गर्नुभएको छ।

मंगलबार आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको थियो। मण्डला क्षेत्रको व्यवस्थापन बैंकलाई दिने विषयमा महानगरले गएको मंसिर ८ गते निर्णय गरेको थियो।

उहाँले बाहै्र महिना फूल फुलाएर हेर्दै आकर्षक ठाउँ बनाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो– ‘यो ठाउँ विज्ञापनका लागि होइन। खाली ठाउँ हेर्दै उराठलाग्दो भयो भने शहरको मुहार नै बिग्रिन्छ।

त्यसैले, मण्डला क्षेत्रमा कुनै पनि समय फूलविहीन बनाउन हुँदैन।’ बैंकका कामु उपमहाप्रबन्धक गौतमले महानगरले उपलब्ध गराएको डिजाइनअनुसार बगैँचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोटबिरुवाहरू लगाउने, मर्मतसम्भार गर्ने र हेरचाह गर्ने दायित्वलाई बैंकले पूरा गर्ने बताउनुभयो।

सम्झौताबमोजिम हाल भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरबदल नगरी आपसी सहमतिमा थप संरचनाहरू निर्माण गर्न सकिनेछ। आउँदो ५ वर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंक आफैँले व्यहोर्नेछ। उक्त क्षेत्रमा बैंकले विद्युतीय माध्यमबाट आफ्नो संस्थाको पहिचान झल्कने किसिमको सामग्री राख्न सक्नेछ। तर, यस्तो सामग्री विज्ञापनमूलक हुने छैन।

राष्ट्रिय पर्वसँगै महानगरले अनुरोध गरेको अवस्थामा मण्डलालाई बहुप्रयोग गर्न सकिनेछ भने यस वरिपरिका ट्राफिक आइल्यान्डहरूलाई कलात्मक ढंगबाट मर्मत गर्ने र सौन्दर्यीकरण झल्काउन आवश्यक पर्ने बोटबिरुवा लगाउने काम बैंकले गर्ने जनाइएको छ। सम्झौतापत्रमा हस्ताक्षर अवसरमा वातावरण व्यवस्थापन विभागका अधिकारीहरूको उपस्थिति थियो।