सजगता अभियान प्रारम्भ


काठमाडौं, (नेस)

नोबल कोरोना भाइरस नियन्त्रण र रोकथामका सन्दर्भमा केन्द्रित रही मानवअधिकार तथा शान्ति समाजले देशव्यापी रूपमा सजगता अभियान प्रारम्भ गरेको छ। कोरोना भाइरस नियन्त्रण रोकथामका लागि शान्ति समाजले राज्य र सरकारसँग सहकार्य गर्ने प्रस्ताव अघि सारेको छ।

कालोबजारी रोक्न प्रभावकारी अनुगमनमा जोड दिँदै आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि ठोस कदम चाल्न पनि शान्ति समाजले सरकारसँग आग्रह गरेको छ।

अराजकता, अव्यवस्था, कानुनविहीनताको स्थिति उत्पन्न हुन नदिन नागरिक खबरदारीका साथै नागरिक सहकार्यमा जोड दिँदै अभाव र असुरक्षाको स्थिति उत्पन्न हुन नदिन राज्य, राजनीतिक समाज, नागरिक समाज सहकार्यका लागि शान्ति समाजले आह्वान गरेको छ।

नोबल कोरोना भाइरस नियन्त्रण, रोकथामका लागि पूर्वसतर्कता, अधिक सावधानी र सफाइ अभियानको विस्तारमा जोड दिँदै समाजले जिल्ला–जिल्लामा शान्ति समाजका सदस्यहरू परिचालन गर्ने भएको छ।

कोरोना भाइरस प्रकोपका सन्दर्भमा सावधानीस्वरूप शान्ति समाजले वैशाख महिनासम्मका आधा दर्जन बढी नियमित अभियान तथा कार्यक्रम स्थगित गरिसकेको छ भने अबको मूल अभियान नोबल कोरोना भाइरस नियन्त्रण/रोकथामका सन्दर्भमा केन्द्रित रहनेछ। यसै अभियानका क्रममा शान्ति समाज रूपन्देही र दाङ शाखाले चैत ४ गते रूपन्देही र दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।