दुबई पठाइदिन्छु भनी ठग्ने पक्राउ


काठमाडौं, (नेस)।

वैदेशिक रोजगारको सिलसिलामा दुबई पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं रानीवन बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–४ खुंगा घर भएका ३८ वर्षीय सुनिल भन्ने शिवकुमार घर्ती मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ गोगंबु चोकबाट पक्राउ गरेको हो। मगरले दुबईमा वर्किङ भिसामा आकर्षक तलब हुन्छ भनी विभिन्न प्रलोभनमा पारी ९ जना व्यक्तिहरूसँग नगद १० लाख ५३ हजार १ सय रुपियाँ ठगी गरी सम्पर्कविहीन भएको खुल्न आएको प्रहरीले जनाएको छ।

मगरलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ।