रक्सौल पुर्याएर लुटपाट


नेपाल समाचारपत्र, बारा

 

सस्तोमा मोबाइल किनिदिने प्रलोभनमा पारेर साथीमार्फत् रक्सौल पुुर्याइएका निजगढ नगरपालिका वडा नम्बर ८ का २१ वर्षीय प्रमिस गुरुङलाई भारतीय युवाको एक समूहले शनिबार चक्कु प्रहार गरी लुटपाट गरेको छ।

 

हाल निजगढ नपा–९ बस्दै आएका गुरुङका साथी वर्ष २० का सुरज साह र ३ जना भारतीय युवाको समूहले गुरुङसँग रहेको २० हजार नगद, एक थान पुरानो सामसुङ मोबाइल र कानमा लगाएको आधा तोला सुनको २ वटा मुन्द्रासमेत लुटेका छन्। चक्कु प्रहारबाट गुरुङको दाहिने गालामा गहिरो चोट लागेको छ।

 

भारतको रक्सौलस्थित कोइरिया टोला घर भई बाबुआमासँग डेरामा बस्दै आएका सुरजले नेपाली बजारमा ५० हजार रुपियाँ पर्ने मोबाइल २० हजारमा किनिदिने भन्दै गुरुङलाई बिहान घरबाट बोलाएर सीमापारि पुर्याएका थिए। पसलमा चिया खान आएको बेला २ दिनअघि मात्रै उनीहरूबीच सामान्य चिनापर्ची भएको थियो।

 

रक्सौल पुगेपछि सुरजले फोनबाट बोलाएका अर्का एक भारतीय युवाको मोटरसाइकलमा चढेर तीनै जना मुख्य बजारबाट दक्षिण पर्ने बाइपास सडक पुगेका थिए। त्यहाँबाट पुगेपछि गुरुङलाई अर्का युवाले तयारी अवस्थामा राखेको एउटा टाटा सुमोमा चढाएर सस्तो मोबाइल पाइने पसल जाने भन्दै करिब १० किमि दक्षिणतर्फ खेतको बगैंचामा पुर्याइयो।

 

जिप बिग्रिएको भन्दै २ घन्टा रोकेपछि शंका लागेर घर फर्किने कुरा गरेपछि गुरुङलाई रक्सौलतर्फ आउने क्रममा जिपभित्र नै चक्कु् प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको थियो। ‘एक्कसि चक्कु देखाएर पैसा निकाल्न भने’, गुरु·ले भने– ‘छैनभन्दा गालामा चक्कु प्रहार गरे, पैसा, मोबाइल र सुनको मुन्द्रासमेत लुटेर लगे। दिन्छु भन्दाभन्दै पनि चक्कु प्रहार र कुटपिट गर्न छोडेनन्।

 

अब मार्छन् जस्तो लागेपछि ढोकाबाट हाम फालेर ज्यान जोगाएँ।’ लुटेको पैसा गन्ने क्रममा जिपको गति कम भएको मौका छोपेर जिपबाट हाम फालेको उनले सुनाए।‘फेरि पछाडिबाट लखेट्दै आएका थिए’, उनले सुनाए– ‘तर सडकमा पुगेपछि अरु मान्छेलाई देखेर सबै फर्किए।’ लुटेराहरूको कब्जाबाट फुत्केर गुरुङ घाइते अवस्थामा राति १० बजे घर आइपुगेको दाजु सन्तोषले सुनाए।

 

गुरुङले सुरज र उनको समूहका मान्छेमाथि ज्यान मार्ने उद्योगमा कारबाहीका लागि आइतबार इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएका छन्। सोही समुहले एक वर्ष पहिले निजगढ नपा–८ का दिनेश पराजुलीसंग पनि सस्तोमा मोबाइल किनिदिने भन्दै रक्सौल पुर्याएर ५० हजार रुपियाँ लुटेको थियो।

 

उक्त घटनापछि रक्सौल बस्दै आएका सुरज गत फागुपूर्णिमामा पर्वतबाट निजगढ आएका हुन्। सुरजका बुबा विनोद साह निजगढ–८ स्थित शरण सुनचाँदी पसलमा कालिगढको काम गर्ने गर्छन्।

 

स्रोत नखुलेको रकमसहित दुई भारतीय पक्राउ

 

सशस्त्र प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ बाट स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपियाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

 

पक्राउ पर्नेहरूमा ४० वर्षीय इनामोल र २५ वर्षीय ईसा आलम रहेका छन्। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमान्डमा खटिएको टोलीले रकमसहित उनीहरूलाई पक्राउ गरेको हो।

 

बीआर०५जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा वीरगन्जबाट जितपुरतर्फ आउँदै गरेको अवस्थामा परवानीपुरमा चेकजाँच गर्दा उक्त रकम फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

 

सोधपुछको क्रममा रकमको स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपियाँसहित नियन्त्रणमा लिइएको बाराका सशस्त्र प्रहरी प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुबेदीले जानकारी दिनुभयो। पक्राउ परेका दुवै जनालाई बरामद मोटरसाइकल र रकमसहित आइतबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक सुबेदीले बताउनुभयो।