ट्राफिक प्रहरीलाई आयुर्वेदको नश्यकर्म


मोतीराम तिमल्सिना, काभ्रे

समाज र राष्ट्रलाई योगदान दिन पहिले व्यक्ति स्वस्थ हुन अनिवार्य रहेको निष्कर्षसहित बागमती प्रदेश सरकारले जिल्ला आर्युर्वेद स्वास्थ्य केन्द्रहरूमार्फत प्रदेशमा कार्यरत ट्राफिक प्रहरीलाई नश्यकर्म अर्थात् प्रदूषणबाट हुने स्वास्थ्य समस्या न्यूनीकरण कार्यक्रम शुरु भएको छ।

 

शनिबार बनेपामा कार्यरत ट्राफिक प्रहरीहरूलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न नश्यकर्म सञ्चालन गरेको छ।

 

कार्यक्रमको बागमती प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले उद्घाटन गर्नुभएको छ। परापूर्वकालदेखि आयुर्वेदको विश्वास गरिँदै आएको अवस्थामा प्रविधिले यसको प्रयोगमा कमी आए पनि बिस्तारै पुनः यसको प्रयोग र विश्वास बढ्दै गएको प्रदेशसभा सदस्य हुमागाईंले बताउनुभयो। रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदका औषधी प्रयोग गर्न उहाँले सुझाव दिनुभयो।

 

स्थानीयस्तरमा पाइने जडीबुटीका थुप्रैखालका फाइदा भए पनि उपभोगमा विश्वास नगर्ने चलन बढेको बताउँदै उहाँले आयुर्वेदको धनी मुलुक नेपाललाई यसको प्रयोग र उपभोगले धनी बनाउनुपर्ने बताउनुभयो। आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा. मनोजकुमार चौधरीले आर्युवेदसँगै थेरापी नश्यकर्मले व्यक्तिलाई स्वस्थ्य बनाउनुपर्ने बताउनुभयो।

 

दैनिक नश्यकर्म गर्दा व्यक्तिको निरोगिताको शक्ति बढ्ने भएकाले दैनीक नश्यकर्म गर्दा व्यक्ति स्वस्थ हुन सक्ने बताउनुभयो। आयुर्वेद स्वास्थ्य केन्द्रले पोषणसम्बन्धी औषधी, स्तनपाई आमालाई दूध बढाउने खालका आयुर्वेदिक, पञ्चकर्म, चूँडाकर्म, तनाव व्यवस्थापनका लागि निःशुल्क योग, थेरापीलगायतका सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो।

 

कार्यक्रममा डा. सुवास घिमिरेले ट्राफिक प्रहरीलाई योग अभ्यास र योग प्रशिक्षण दिनुभएको थियो। नश्यकर्मका बारेमा लामो समय आर्युवेदमा संलग्न व्यक्तिहरूले प्रशिक्षण दिनुभयो। प्रशिक्षणबाट ट्राफिक प्रहरी सडकमा खटिरहँदा हुने प्रदूषणबाट बच्ने उपायका बारेमा बताइएको थियो।

 

कार्यक्रमबाट सेवा र जिम्मेवारीसँग सुरक्षित रहने तरिकाका बारेमा जानकारी प्राप्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विशाल लामाले बताउनुभयो। ट्राफिक प्रहरी कार्यालय काभ्रेले विभिन्न संघ संस्थासँगको समन्वयमा चालकहरूको स्वास्थ्य परीक्षण, चालकहरूलाई सचेतनामूलक प्रशिक्षण तथा विविध कार्यहरू गरिरहेको प्रहरी निरीक्षक विशाल लामाले बताउनुभयो।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्ष बलराम अधिकारी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका रमेश पनेरु, कृष्णप्रसाद पराजुलीलगायतले आयुर्वेदले दिएका सेवा र प्रभावकारिताका बारेमा मन्तव्य राख्नुभएको थियो। जिल्लामा दरबन्दीअनुसार ट्राफिक प्रहरी कार्यरत नरहे पनि २० जना ट्राफिक प्रहरीलाई नश्यकर्म सम्बन्धी तालिम प्रदान गरिएको छ।