नेपाल समाचारपत्र, गुल्मी ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनबाट २८ जना विद्यार्थी वञ्चित भएका छन्। जसमा छात्रा १८ जना र छात्र १० जना रहेका छन्।
गुल्मीमा ७० प्रतिशत हाजिरी नपुगेका तथा आवेदन फाराम भरेका तर विभिन्न कारणले विद्यालय आउन नसकेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन्। यस वर्ष एसईई परीक्षामा ४ हजार ७ सय ७ विद्यार्थी सहभागी हुने भएका छन्।
आगामी चैत ६ गतेदेखि सञ्चालन हुन लागेको एसईईमा जिल्लाका १ सय ४५ वटा विद्यालका विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका एकाइ प्रमुख ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो। उनले छात्रा २ हजार ५ सय १५ जना र छात्र २ हजार १ सय ९२ जना परीक्षामा सहभागी हुने बताउनुभयो।
नियमिततर्फ ४ हजार ६ सय २८ जसमा छात्रा २ हजार ४ सय ८४ र छात्र २ हजार १ सय ४४ जना सहभागी हुनेछन्। त्यस्तै, आंशिक तथा ग्रेड वृद्धि समूहतर्फ ७९ जना जसमा छात्रा ३१ जना र छात्र ४८ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ।
चैत १७ गतेसम्म सञ्चालन हुने यस वर्षको परीक्षामा साधारणतर्फ ४ हजार ४ सय ७४ जसमा छात्रा २ हजार ४ सय ८ र छात्र २ हजार ६६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका शाखा अधिकृत महेन्द्र सुवेदीले बताउनुुभयो।
जिल्लामा हाल १६ वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्राविधिक सहायक अमृत पौडेलले जानकारी दिनुभयो।
रेसुंगा मावि तम्घास र जनज्योति मावि रिमुवाबाट सिभिल इन्जिनियरिङ र अन्य ४ वटा विद्यालयबाट बालीविज्ञान अध्ययन गरेका परीक्षार्थी सहभागी हुनेछन्। जिल्लाका एकजना विद्यार्थी काठमाडौं कारागारबाट परीक्षामा सहभागी हुने इकाइ प्रमुख ज्ञवालीले बताउनुभयो।
२६ परीक्षा केन्द्र
यस वर्षको परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
जुन विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ, त्यो विद्यालयको प्रधानाध्यापक नै स्वतः त्यहाँको केन्द्राध्यक्ष हुने व्यवस्था भएको इकाइ प्रमुख ज्ञवालीले बताउनुभयो। हाल परीक्षा केन्द्रहरूमा उत्तरपुस्तिका पुर्याउने काम भइरहेको छ।











प्रतिक्रिया