आइसोलेसन कक्ष


लमजुङ, (नेस)।

सामुदायिक अस्पतालमा एक बेड क्षमताको आइसोलेसन कक्ष तयार भएको छ। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारका लागि अस्पतालमा एक बेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएको हो।

 

कोठा तयार पारिए पनि आवश्यक स्वास्थ्य सामग्री नभएको अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठकोे भनाइ छ। ‘कोरोना संक्रमित कोही देखिएमा तत्काल यहाँ ल्याएर परामर्श गर्छौं।

 

यहाँ कुनै उपचार हुँदैन उपचारका लागि बाहिर पठाउने हो।’ –उहाँले भन्नुभयो। जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको कोरोनासम्बन्धी बहुपक्षीय भेलामा सहभागी जनप्रतिनिधि, दलका नेता, सुरक्षा निकाय तथा सरोकारवालाले छुट्टै स्थानमा आइसोलेसन कक्ष तथा क्वारेनटाइन स्थलको व्यवस्था गरेर तयारी अवस्थामा रहनुपर्ने बताएका छन्।

 

त्यस्तै, मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डेले एउटा मात्र आइसोलेसन कक्षा नहुने भन्दै ठाउँ–ठाउँमा यस्ता कक्षा सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको थियो।

 

प्रशासनले कोरोना भाइरस सम्भावित संक्रमण रोकथाम, नियन्त्रण तथा सजगता अपनाउन सबै कार्यालय, संघ–संस्था, स्थानीय तह, पत्रकार, नागरिक समाजमा आग्रह गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो।