कोरोना कहर काँकडभिट्टाबाहेक सबै नाका बन्द


नेपाल समाचारपत्र, भद्रपुर

 

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको काँकडभिट्टाबाहेक सबै नाका बन्द गरेको छ।

 

बंगाल सरकारले शनिबार इलामको पशुपतिनगर नाका बन्द गरेकोमा आइतबारदेखि काँकडभिट्टाबाहेक सबै नाका बन्द गरिसकेको जनाएको छ। भारतको बिहार सरकारले भने हालसम्म कुनै नाका बन्द गरेको छैन। झापासँग भारतको बंगाल र बिहार राज्य जोडिएको छ। बंगालसँग काँकडभिट्टा र भद्रपुर नाका पर्छन्।

 

बिहारसँग भद्रपुरसहित केचना, कुमरखोद, गौरीगन्ज नाका पर्छन्। बंगालले काँकडभिट्टाबाट भारत आवतजावत गर्ने नागरिकको ज्वरो नाप्न थर्मल गर्नबाट स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गर्न दिइरहेको छ।

 

भद्रपुर नाकाबाट बंगालतर्फ जाने नागरिकलाई आइतबार बिहानदेखि प्रवेशमा रोक लगाइसकेको प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो।

 

बंगालले नाका बन्द गरे पनि त्यसको असर भद्रपुरमा परेको छैन। बिहारबाट कोरोना भाइरसको परीक्षण गरेर निर्वाध रूपमा दुवै देशका नागरिक आवतजावत गरिरहेका छन्। भद्रपुर नाका बन्द गराउने बारेमा केन्द्रीय सरकारबाट भारतीय एसएसबीलाई हालसम्म आधिकारिक जानकारी नआएको बताइएको छ।

 

भद्रपुरसँग बिहारसँग जोडिएका केचना, कुमरखोद, गौरीगन्ज नाका पनि खुला छन्। ती नाकाबाट पनि स्थानीय आवतजावत गरिरहेको झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो।

 

हेल्थ डेक्स नाम मात्रको

काँकडभिट्टामा स्थापना गरिएको हेल्थ डेक्स नाम मात्रको भएको पाइएको छ। मेची भन्सार कार्यालयअगाडि सडक किनारमा कोरोना परीक्षण गर्ने हेल्थ डेक्स स्थापना गरिएको छ।

हातमा तापक्रम नाप्ने यन्त्र बोकेर काँकडभिट्टा नाका भएर नेपाल फर्कने सबैको निधारअगाडि राखिन्छ। त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका अनुसार न्यूनम १ सय फरेनहाइटभन्दा कम भएकाहरूलाई सहजै जान दिइन्छ। तर, त्योभन्दा बढी आएकालाई अस्पताल जाने सल्लाह दिएर मेचीनगर नगरपालिकालाई जानकारी गराएर छोडिने गरिएको छ।

सडकको किनारमै रहेको घुम्तीमा कुनै बेला तापक्रम परीक्षण गर्नेहरूको लर्को झन्डै मेची पुलसम्मै पुग्छ। पर्याप्त स्वास्थ्यकर्मी नहुनु, पर्याप्त तापक्रम परीक्षण गर्ने यन्त्र र ठाउँको समेत राम्रो प्रबन्ध नभएका कारण सहजै परीक्षण गराउन नसकिएको बटुवाले जनाएका छन्।

तापक्रम जाँच गर्नका लागि एक घन्टासम्म लाइन बस्नुपरेको उहाँहरूको भनाइ छ। नाकाबाट सवारीसाधनको माध्मबाट नेपाल आउने यात्रुको स्वास्थ्य परीक्षण नगरिएको पाइएको छ। सवारीका साधनहरू विनारोकछेक जाने गरेको र हातमा झोला र काखमा नानी च्यापेर आउने सर्वसाधारणलाई मात्र लाइन लगाएर परीक्षण गराएको छ।

 

परीक्षणस्थलमा नेपाल प्रहरी, पर्यटक प्रहरी, सशस्त्र प्रहरीलाई खटाइएको भए पनि पैदलयात्रीलाई मात्रै बाटो छेकेर लाइन लगाउने गरेका छन्। कसैलाई परीक्षण गर्ने कसैलाई नगर्ने गर्दा हेल्थ डेक्सको औचित्य नभएको उहाँहरूको गुनासो छ।

धुलाबारी घर भएका राजु अग्रवाल भारततर्फको परीक्षणबाट फकुर्नभयो। केही बेर अघि मात्र नेपाल तर्फको हेल्थ डेक्समा परीक्षण गराएर भारतको पानीटंकी गएका अग्रवाल पानी टंकीमा भारततर्फको हेल्थ डेक्सबाट चाहिँ फर्कनुपर्यो।

‘नेपाल र भारतमा एउटै तरिकाले तापक्रम जाँच गरिएको छ। तर, नेपालमा पास भारतमा फेल कसरी भयो ? नेपाल या भारत, कहाँको तापक्रम नाप्ने यन्त्र गलत हो।’ –उहाँले भन्नुभयो।

काँकडभिट्टामा स्थापना गरिएको हेल्थ डेक्स सेन्टरमा ४ जना स्वास्थ्यकर्मी र ३ वटा थर्ममिटर छन्। तापक्रम परीक्षणमा खटिएका स्वास्थ्यकर्मी पनि उत्तिकै असुरक्षित छन्।