तीन विद्यालयलाई भारतद्वारा आर्थिक सहयोग


नेपाल समाचारपत्र, काठमाडौं ।

 

काठमाडौंस्थित भारतीय राजदूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच तीन नयाँ विद्यालय भवन निर्माणका लागि सम्झौता भएको छ। दार्चुलाको धापस्थित मालिकार्जुन उच्च माध्यमिक विद्यालय र धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणका लागि दूतावासले सम्झौता गरेको हो।

 

महाकाली नगरपालिका, दार्चुला र मुखियापट्टि मुसहरनिया गाउँपालिका धनुषासँग छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

 

भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत यी दुई विद्यालयको निर्माण कुल ७ करोड ३९ लाख ६० हजार रुपियाँ रहेको छ। मालिकार्जुन उच्च माध्यमिक विद्यालय २ करोड ९६ लाख ४० हजार रुपियाँ लागतमा निर्माण हुनेछ भने वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणका ४ करोड ४३ लाख २० हजार रुपियाँ छुट्याइएको छ।

 

यी विद्यालय निर्माणका लागि आर्थिक सहयोगको जिम्मा भारत सरकारले लिएको छ भने बोलपत्र आह्वान, कार्य हस्तान्तरण, दैनिक निरीक्षणलगायतका निर्माण कार्य नेपाल सरकारले कार्यान्वयन निकायका रूपमा तोकेका महाकाली नगरपालिका, दार्चुला एवं मुखियापट्टि मुसहरनिया गाउँपालिका धनुषाले गर्नेछन्। यस परियोजनालाई संघीय तहमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासले अनुगमन गर्नेछन्।

 

त्यसैगरी, कपिलवस्तुको महाराजगंज नगरपालिकास्थित शिवभारी विद्यालयको भवन निर्माणका लागि भारत सरकारले ३ करोड ३० लाख ५० हजार रुपियाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कुल रकमको पहिलो किस्तास्वरूप भारतीय राजदूतावासले महाराजगंज महानगरपालिकाका मेयरको उपस्थितिमा ८२ लाख ६० हजार रुपियाँको चेक जिल्ला समन्वय समिति कपिलवस्तुलाई हस्तान्तरण गरेको छ।