बन्चरो आतंक फैलाउने राजा पक्राउ 


जोहानेसवर्ग, (एजेन्सी)

अश्वेत नेता नेल्सन मन्डेलाका भतिजा तथा दक्षिण अफ्रिकी राजालाई दरबारमा बन्चरो आतंक फैलाएको अभियोगमा गिरफ्तार गरिएको छ। गत डिसेम्बरमा क्षमादान पाएर जेलबाट रिहा भएका बुएलेखाया दालिन्दाइवो शुक्रबार बिहान सबेरै थेमवुसाही दरबारमा जबर्जस्ती प्रवेश गरेका थिए।

प्रत्यक्षदर्शीहरूका अनुसार उनले आफ्नो पुत्र अर्थात् उत्तराधिकारीको खोजी गरिरहेको बताएका थिए। उनी कारागारमा रहँदा उनका पुत्रलाई निमित्त राजा बनाइएको थियो।

दालिन्दाइवो आएको सूचना पाउनासाथ उनका उत्तराधिकारी झ्यालबाट हाम फालेर भागेका थिए भने उनकी पत्नी आक्रमणमा घाइते भएकी दरबारका प्रवक्ताले बताएका छन्।

दालिन्दाइवोलाई अपहरण, यातना र आगजनीजस्ता अभियोगमा १२ वर्ष लामो कारावास सजाय भएको थियो। तर, चार वर्षपछि नै गत वर्ष राष्ट्रपतिले उनलाई क्षमादान दिएका थिए।

सन् १९९४ मा अल्पमत समूह गोरा जातिको शासनको अन्त्यपछि दक्षिण अफ्रिकामा अपराधको अभियोग लगाइएका यिनी पहिलो राजा हुन्। ५६ वर्षीय यिनी थेम्बु वंशका हुन्।

दक्षिण अफ्रिकाको पहिलो काला जातिका राष्ट्रपति मन्डेला पनि यही वंशका हुन्। दक्षिण अफ्रिकामा विभिन्न जातीय समूह र वंशको प्रतिनिधित्व गर्ने सातजना राजालाई औपचारिक मान्यता दिइएको छ।