मध्यपहाडी लोकमार्गको पर्वत खण्ड तीन घन्टा बन्द हुने

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

 

सडक फराकिलो र स्तरोन्नतिको काम भइरहेको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड चैत १ गतेदेखि दैनिक तीन घन्टा बन्द हुने भएको छ ।
सडक विस्तारको क्रममा विस्फोटन गर्नुपर्ने भएकाले कुस्मा बजारको खरेहा फलामखानीदेखि चुवाको चाइनाचोकसम्म दैनिक तीन घन्ट बन्द गर्ने निर्णय भएको हो ।

 

जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको बैठकले मध्याह्न साढे १२ बजेदेखि साँझ साढे ३ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको छ । लोकमार्गको पर्वत खण्डमा पर्ने चुवाको बाघदुला भीरमा विस्फोटन गर्नका लागि मध्यपहाडी लोकमार्ग कार्यालयले सडक बन्द गर्न माग गरेका कारण सर्वपक्षीय बैठकले सडक बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो ।

 

‘सडक विस्तारका लागि भीर फोर्नका लागि विस्फोट गर्नुको विकल्प नभएकाले केही घन्टा आवगमन रोकेरै भए पनि काम गर्नुपर्ने अवस्था आएको हो’, प्रजिअ नेपालले भन्नुभयो– ‘यात्रु र सवारीसाधनको मर्कालाई ध्यानमा राखेर छोटो समय बन्द गर्ने निर्णय गरेका छौं ।’

 

बम विस्फोट हरेक दिन नहुने र विस्फोटनका लागि ड्रिल गर्ने (प्वाल बनाउने) क्रममा भने केही बेर सडक बन्द गरेर सडक खुल्ने निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिका इन्जिनियर विवेक रेग्मीले जानकारी दिनुभयो । बढीमा चार दिन मात्रै विस्फोटन हुन्छ, त्यो बेला तीन घण्टा नै बन्द गर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘अन्य दिनमा प्वाल बनाउने काम गर्दा केही बेर रोकेर सवारी वारपार गराउन सकिन्छ ।’

 

सोही समयमा मोदी गाउँपालिकाको–६ बेतनीमा पनि भीर कटानको काम हुने भएकाले सवारीसाधन केही बेर रोक्ने तथा छाड्ने गरेर सडक विस्तारको काम गर्ने सहमति पनि भएको छ ।

 

मध्यपहाडी लोकमार्गमा पर्ने पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलब ७ सय ६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मतसम्भार तीव्र पारिरहेको छ ।

 

लोकमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न चारवटा प्याकेज बनाएर काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्षमा पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ ।

 

२०५० सालमा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारीसाधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो ।