१४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय

0
Shares

भगवती तिमल्सिना, काठमाडौं ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९)लाई विश्वव्यापी महामारीका रूपमा वर्गीकरण गरेसँगै सरकारले यसबाट बढी प्रभावित ८ देशबाट नेपाल आउने नेपाली र विदेशीलाई १४ दिनसम्म अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीन, दक्षिण कोरिया, जापान, इरान, इटली, स्पेन, फ्रान्स र जर्मनबाट आउने व्यक्तिले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको जानकारी दिइएको हो।
मन्त्रालयले भाइरसको रोकथाम तथा नियन्त्रणका लागि योजना, रणनीति तथा कार्यक्रम सार्वजानिक गरेको छ। नेपालमा कोरोना संक्रमण देखिएको अवस्थामा महामारी अवधिभर उडान बन्द गर्ने योजना बनाइएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो। कोभिड–१९ को जोखिम भएका मुलुकबाट नेपाल आउने यात्रुलाई रोग नभएको प्रमाणित कागजात लिएर आउने प्रावधान अनिवार्य गरिएको छ।
उक्त अवसरमा नेपालमा हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ सय ५० जनाको जाँच गरिएको र पछिल्लो समय ४ जना टेकू र २ जनालाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको जानकारी दिइयो।
केके भयो तयारी ?
 शंकास्पद बिरामीलाई जाँच गर्न पहिलो पंक्तिमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नेपाल एपीएफ अस्पतालमा छुट्टै कक्षको व्यवस्था गरिएको छ भने अन्य अस्पतालहरूको सूचीकरण गरिएको छ।
 मेडिकल हब तथा स्याटलाइट अस्पतालहरूमा आइसोलेसन वार्डको व्यवस्था गरिएको छ।
 प्रादेशिक अस्पतालहरूबाट आइसोलेसन वार्ड र सघन उपचार कक्षको तथ्यांक अध्यावधिक गरिएको छ।
 बिरामीको प्रभावकारी व्यवस्थापन गर्न इन्सिडेन्ट कमान्ड सिस्टम तयारी अवस्थामा छ।
 आवश्यकताअनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइनस्थल यथावत् छ।
 उच्च संक्रमित देशहरूबाट आउने नेपालीका साथै नेपालमा विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक चेकजाँच गरी होम क्वारेन्टाइनमा रहन निर्देशन दिइएको छ भने अनुगमन जारी छ।
 भारत र चीनसँग जोडिएका सीमावर्ती प्रवेश नाकाहरूमा ४३ वटा हेल्थ डेस्क, आपत्कालीन अवस्थामा क्वारेन्टाइन गर्न आवश्यक पर्ने स्थान र संरचनाहरूको योजना बनाइएको छ।
विदेशस्थित कूटनीतिक नियोग तथा दूतावासमार्फत त्यहाँ रहेका नेपालीलाई लक्षित गरी स्वास्थ्य सचेतनासम्बन्धी सूचना प्रवाह गरिएको छ।
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दैनिक रूपमा जनहितका सूचनासहितको स्वास्थ्य बुलेटिन सार्वजनिक, रोकथाम र नियन्त्रणको प्रयास जारी राख्ने निर्णय भएको छ।
 संक्रमणको निगरानी, रोकथाम र नियन्त्रणका लागि १८ जना सर्भिलेन्स अफिसर खटाउने तयारी भएको छ भने देशव्यापी सचेतना बढाउने कार्य भएको छ।
 आइसोलेसन वार्ड, औषधि, बेड, उकिरण, जनशक्ति अनुमानित रूपमा योजना बनाइएको छ।