प्रहरीको सक्रियतामा बालविवाह रोकियो

0
Shares

नेपाल समाचारपत्र, दोलखा

जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्लाको मेलुङ गाउँपालिकामा हुन लागेको एउटा बालविवाह रोकेको छ। स्थानीय एक युवकसँग १८ वर्षकी एक नाबालिकाको परम्परागत रूपमा हुन लागेको बालविवाह अभिभावककै सहमतिमा रोकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो।

मेलुङ गाउँपालिका–३ भस्मेका रिपुबहादुर कार्कीकी १८ वर्षकी नाबालिका छोरी मनिषा कार्कीको वडा नम्बर ४ भेड्पुका ललितबहादुर थापाको २३ वर्षीय छोरा विवेक थापासँग हँुदै छ भन्ने जानकारी पाएपछि तत्काल प्रहरी टोली खटाई दुवै पक्षको अभिभावकलाई नेपालको कानुनी प्रावधानबारे जानकारी गराएको थियो। अभिभावककै सहमतिमा विवाह रोकेर केटाकेटीलाई अभिभावकहरूको जिम्मा लगाई छोडिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो।

नेपालको मुलुकी अपराध संहिता–२०७४ को दफा १७३ मा केटाकेटीको उमेर २० वर्ष नपुगी विवाह गरे गराएमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।

केटा र केटी पक्ष दुवैका अभिभावकले कानुनी प्रक्रियाका बारेमा जानकारी पाएपछि आपसी सहमतिमै आइतबार विवाह रोकी जन्तीलाई फर्काएका थिए।