होमस्टे सञ्चालक सम्मानित

0
Shares

नेपाल समाचारपत्र, लमजुङ

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा माइती नेपालले लमजुङका दुईजना होमस्टे सञ्चालकलाई सम्मान गरेको छ।

महिलाको क्षेत्रमा काम गर्दै आएको माइती नेपालले गाउँ शहरस्थित काउलेपानी होमस्टेकी सञ्चालिका तिलमाया गुरुङ र उत्तरी लमजुङको मस्र्याङ्दी–५ खानीगाउँस्थित रक गार्डेन सामुदायिक होमस्टेकी अध्यक्ष सीता गुरुङलाई सम्मान गरेको हो। पूर्वप्रदेश प्रमुखसमेत रहेकी माइती नेपालकी संस्थापक अनुराधा कोइराला, व्यवसायी सिर्जना राणा र लेखक कर्ण शाक्यले संयुक्त रूपमा उहाँहरूलाई सम्मानित गर्नुभएको हो।

व्यावसायिक होमस्टे सञ्चालन तथा अन्य सामाजिक संस्थामा नेतृत्व गरी महिलाको आयआर्जन एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै गुरुङद्वय सम्मानित भएका हुन्। गाउँघरमा संघर्ष गरेर होमस्टे खोल्ने महिला सामुदायिक उद्यमका उदाहरणीय पात्र भएको भन्दै स्थानीय पर्यटन प्रवद्र्धनदेखि संस्कृतिको जगेर्ना र महिला सशक्तीकरणमा उनीहरूको भूमिका महत्व दिँदै सम्मान गरेको संस्थाले जनाएको छ।

सरकारले घोषणा गरेको भिजिट नेपाल–२०२० लाई समेत सहयोग पु¥याउने उद्देश्यले उनीहरूलाई सम्मानित गरिएको माइती नेपालले जनाएको छ। तिलमाया गुरुङ नेपालकै उत्कृष्ट काउलेपानी होमस्टेकी सञ्चालक हुन् भने सीता गुरुङ नेपालकै पहिलो रक गार्डेन रहेको घेर्मुको खानीगाउँस्थित रक गार्डेन सामुदायिक होमस्टेको अध्यक्ष हुनुहुन्छ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफू सम्मानित हुन पाउँदा खुसी लाग्नु स्वाभाविक मात्रै नभई सम्पूर्ण जिल्लावासीका लागि गौरवको विषय भएको गुरुङद्वयको प्रतिक्रिया छ। सम्मानले झन् बढी जिम्मेवार बनाएको उनीहरूको धारणा छ।

मौरीको घार वितरण
व्यावसायिक मौरीपालनका लागि सुन्दरबजार नगरपालिका–५ गहतेका १६ जना मौरीपालक किसानलाई मौरीको घार वितरण गरिएको छ। ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) र आईसीसीओ कोअपरेसनद्वारा सञ्चालित इमरजी दोस्रो परियोजना र सुन्दरबजार नगरपालिका–५ गहतेको समन्वयमा वितरण गरिएको हो। बाँगेडाँडाको बाँगेडाँडा बहुउद्देश्य अर्गानिक मौरीपालन कृषि समूहमा आबद्ध किसानलाई मौरीको घार वितरण गरिएको आरसीडीसीका कार्यकारी निर्देशक प्रेमबहादुर भट्टराईले बताउनुभयो।

किसानलाई मौरीपालनमा लगाई आत्मनिर्भर बनाउन सहयोग गरिएको उहाँको धारणा छ। उक्त क्षेत्रलाई मौरीको पकेट क्षेत्रका रूपमा पनि विकास गरिने भएको छ।