विपन्नलाई नगरपालिकाको सहयोग

0
Shares

नेपाल समाचारपत्र, स्याङ्जा

विपन्न परिवारलाई गल्याङ नगरपालिकाले सहयोग गरेको छ। गल्याङ नगरपालिका–९ साङ्लीया रिपमा रहेको एक विपन्न परिवारलाई नगरपालिकाले सहयोग गरेको हो।

स्थानीय पदमबहादुर सोमै मगरको परिवारलाई नगरपालिकाले जस्तापाता, खाद्यान्नसहितका सामग्री प्रदान गरेको छ। फागुन १५ गते सोमै मगरको निधन भएको परिवारमा आर्थिक समस्या रहेकोबारे स्थानीय अगुवाहरूले नगरप्रमुख भूपराज अधिकारीलाई जानकारी गराएका थिए। स्थानीयको निवेदनपछि नगरप्रमुख अधिकारीले घरका लागि आवश्यक जस्तापातासहित खाद्यान्न सामग्रीको व्यवस्था गर्नुभएको हो।

नगरप्रमुखले सहयोग गरेको जस्तापातालाई स्थानीय युवाको पहलमा घरमा लगाइएको छ। चुहिएको खरको छाना हटाएर जस्तापाताले घर छाइएको हो।

नगरप्रमुखले विपन्न परिवारलाई सहयोग गरेकोमा स्थानीय हर्षित भएका छन्। सोमै मगरको परिवारले आफूहरूलाई अप्ठ्यारो परेका बेलामा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताएका छन्।

नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र धेरै विपन्न परिवार रहेको भन्दै सबैको आर्थिक उन्नतिका लागि आफूले सक्दो पहल गरिरहेको बताउनुभयो। उहाँले एक दुईपटक सहयोग गर्नेभन्दा पनि सहयोग गर्न नपर्ने वातावरण बनाउनका लागि नगरपालिकाले स्थानीय आर्थिक विकासलगायतका विभिन्न योजनाअघि सारेको बताउनुभयो।