कोरोना कहर; आइसोलोसन कक्ष स्थापना

0
Shares

नेपाल समाचारपत्र, बैतडी

पहिलोपटक आइसोलोसन कक्ष स्थापना गरिएको छ। जिल्ला अस्पतालमा ३ बेडको आइसोलोसन कक्ष स्थापना गरिएको हो। कोरोनाको विश्वव्यापी संक्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि आइसोलोसन कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वसन्तराज जोशीले जानकारी दिनुभयो।

अस्पताल परिसरभित्रै स्थापना गरिएको आइसोलोसन कक्षमा शंकास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिंगानको नमुना संकलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ। ‘शंकास्पद बिरामीको खकार र सिंगानको नमुना पठाउने माध्यम पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाई सकिएको छ’, उहाँले भन्नुभयो– ‘कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारी स्वरूप जिल्ला अस्पतालमा आइसोलोसन कक्ष स्थापना गरिएको हो।’ यसअघि प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलोसन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो। बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले उच्च सतर्कता अपनाइएको जनाइएको छ।

भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा केही दिनअघिदेखि स्वास्थ्य सहायता कक्ष स्थापना गरेर त्यहाँबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्य नियमित रूपमा भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो। दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा सीमा नाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। सो कक्षबाट हालसम्म ४ सय ५० बढी नागरिकको स्वास्थ्य परीक्षण गरिसकिएको छ।

नाका खुलेदेखि बन्द हुँदासम्म स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीले नेपाल फर्किने नागरिकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको दशरथचन्द नगरपालिकाले जनाएको छ।

नगरप्रमुखद्वारा हेल्प डेस्क अनुगमन

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा सञ्चालनमा ल्याइएको स्वास्थ्य सहायता कक्षको अनुगमन गरिएको छ। दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापालगायतको टोलीले सहायता कक्षबाट प्रदान भइरहेका सेवाका बारेमा अनुगमन गरिएको छ।
दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा फागुन १० गते मात्रै झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको थियो।
नाकामा स्थापना गरिएको सहायता कक्षमा इन्फ्रारेड थर्मोमिटरको सहायताले भारतबाट फर्किने नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो।

कसरी सर्छ र कसरी बच्ने

कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुंगीमा रोग निम्त्याउने गर्दछ। मानिसमा यसले श्वास–प्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ, जुन प्राणघातक पनि हुन सक्छ। हालसम्म यसका विरुद्ध कुनै खोप वा औषधिको आविष्कार भएको छैन।

कोरोना भाइरस समुद्री खानाबाट मानिसमा सर्ने एक प्रकारको भाइरस हो। यस भाइरसको संक्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। हाल यो भाइरस चीनबाट विभिन्न १ सय बढी देशमा फैलिसको छ।

कोरोनावाट बच्नका लागि जीवित जनावरको धेरै सम्पर्कमा नबस्ने, खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भीडभाडमा सावधानी अपनाउने, मास्क लगाउने र यदि लक्षण देखिएमा अस्पतालमा सम्पर्क गर्नेुपर्ने स्वास्थ्यकर्मीको सुुझाव रहेको छ।

उच्च सतर्कता अपनाइँदै

कोरोना भाइरसको जोखिमलाई लक्षित गर्दै ताप्लेजुङमा सुरक्षा र स्वास्थ्य जाँचलाई चुस्त बनाइएको छ ।

बुधबार ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले ताप्लेजुङका सबै स्थानीय तहका कार्यालय प्रमुख, स्वास्थ्य एकाइ प्रमुखका साथै सरोकारवालहरूलाई बोलाएर तत्कालको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी लिनुभएको हो ।

ताप्लेजुङ चीनसँग सिमाना जोडिएको जिल्ला भएकाले सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभएको छ। चीन र ताप्लेजङको ओलाङचुङ्गोला नाकाको अवस्थाबारे तथा निर्माण भइरहेको मध्यतमोर सानिमा हाइड्रोपावरमा कार्यरत चिनियाँ नागरिकको स्वास्थ्य अवस्थाको पनि निरौलाले जानकारी लिनुभएको थियो ।

ओलाङचुङगोला नाका हिउँका कारणले माघ पहिलो हप्तादेखि नै आवतजावत बन्द भएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो ।

मध्यतमोर सानिमा हाइड्रोपावरमा कार्यरत चिनियाँ नागरिक नयाँ ४२ जना काममा आइपुगेको र उनीहरूलाई नीलो हेल्मेटका साथै नीलो युनिफर्म दिई छुट्टै मेसको व्यवस्था गरिएको छ। नियमित स्वास्थ्य निरीक्षण पनि भइरहेको मध्यतमोर सानिमा हाइड्रोपावरमा कार्यरत एक कर्मचारीले जानकारी दिनुभयो।

सरोकारवालहरूसँग छलफलपछि ताप्लेजुङको विमानस्थल सुकेटारमा र ओलाचुङगोला नाकामा हेल्थ डेस्क स्थापना गरी आउने–जानेको स्वास्थ्य परीक्षण गर्ने कार्यअघि बढिसकेको छ। सार्वजनिक यातायात तथा बसपार्कहरूमा डस्बिन, नेप्किन र साबुन राख्ने व्यवस्था मिलाउन निरौलाले निर्देशन दिनुभएको छ।