राष्ट्रियसभाबाट पारमाणविक विधेयक पारित

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको पारमाणविक विधेयक २०७५ पारित गरेको छ।
समितिको बुधबारको बैठकले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको उक्त विधेयक समितिले दफाबार छलफलपछि पारित गरेको हो।
समितिका सभापति परशुराम मेघी गुरुङले प्राविधिक विषय भएको हुनाले समितिमा गहन छलफल गरेर पारित गरेको जानकारी दिँदै बिहीबार सदनमा पेस गर्ने बताउनुभयो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि समितिमा भएको सहमतिमा मन्त्रालय सहमत रहेको र यससम्बन्धी कानुन भएका कारणले धेरै काम रोकिएकाले अब सहज हुने बताउनुभयो।
मन्त्री पोखरेलले पारमाणविक विधेयक संवेदनशील भएको र यसलाई नियमन गर्न विज्ञता, विश्वविद्यालय, अन्तर मन्त्रालय र सुरक्षाको दृष्टिकोणले प्राधिकरण नै आवश्यक भए पनि आर्थिकभार कम गर्ने गरी मन्त्रालयको विभाग तहको संस्थागत संरचना रहने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो।