आफ्नै बाबुसँग फिरौती माग्ने पक्राउ

0
Shares

काठमाडौं, (नेस)

अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा बुढिगंगा गाउँपालिका–३ बाँसबारी बस्ने मुकेशकुमार महतोलाई सुनसरीको भन्टाबारीबाट सोमबार प्रहरीले पक्राउ गरेको छ।

गत शुक्रबार घरबाट निस्केका मुकेश कुमारले आफ्नो मोबाइलबाट बाबुलाई फोन गरी आफू अपहरणमा परेको, अपहरणकारीले ३० लाख रुपियाँ फिरौती मागेको र प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिएको जानकारी दिँदै गत शुक्रबार र शनिबार अपहरणकारीले आफूलाई लहानमा, आइतबार धनुषाको जनकपुरमा र सोमबार कोसी ब्यारेजको बोर्डर छेउमा राखेको बताएका थिए।

सोमबार उनका बाबुले २१ लाख रुपियाँ फिरौतीको रकम दिएका थिए। घटनाको अनुसन्धानको क्रममा प्रहरीले तत्काल उनकै मुन्सी काम गर्ने बुढिगंगा गाउँपालिका ३ बाँसबारी बस्ने कृष्ण राजवंशीलाई फिरौतीको रकमसहित पक्राउ गरेको थियो।

मुकेश कुमारले आफूले १ वर्षअघि ५ लाख रुपियाँ सापट लिँदा मिटर ब्याजका कारण परिवारले ९६ लाख तिर्नुपरेको, अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की दिएकोले घर परिवारबाट पैसा माग्न लाज लागेर आफूले अपहरणको नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।