व्यवसायीद्वारा मास्क निःशुल्क प्रदान

0
Shares

हेटौंडा, (नेस)

मकवानपुर उद्योग वाणिज्य संघले बुधबार मास्क वितरण गरेको छ। संघ कार्यवाहक अध्यक्ष माधब न्यौपानेले हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरि खड्कालाई हेटौंडा अस्पतालमा मास्क प्रदान गर्नुभएको हो।

कार्यक्रममा न्यौपानेले विश्वभर कोरोना भाइरस फैलिरहेको अवस्थामा उक्त रोग श्वासप्रश्वासबाट पनि सर्ने भएकाले मास्क बितरण गरिएको बताउनुभयो।

उहाँले संघका तर्फबाट अस्पताललाई मास्क हस्तान्तरण गर्दै व्यापारीले मास्क लुकाएको भन्ने कुरा चिर्न यसले सघाउने दाबी गर्नुभयो। कार्यक्रममा डा. खड्काले सुविधा सम्पन्न अस्पताल काठमाडौंमा मात्र भएकाले हेटांैडामा यस्तो सहयोग आवश्यक रहेको बताउनुभयो।

उहाँले विश्वभर १ सयभन्दा बढी देशमा कोरोना भाइरस फैलिसकेकोले विशेषगरि घाँटी दुख्ने तथा ज्वरो आउने भए उक्त भाइरसको जाँच गराउन सुझाउनुभयो।

उक्त भाइरस अन्य नियमित फ्लुसँग मिल्दोजुल्दो भए पनि रुघा लाग्दा सिंगान कम बग्ने, सुक्खा खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण देखिने उहाँले जानकारी दिनुभयो। उक्त भाइरसको औषधि परीक्षण अवस्थामा रहेको तथा सय बिरामीमा ३ प्रतिशतको मात्र मृत्यु हुने भएकाले धेरै डर त्रास लिन नहुने उहाँले सुझाउनुभयो।

संक्रमण भएका ८५ प्रतिशतलाई केही नहुने र १२ प्रतिशतलाई केही डरलाग्दो अवस्था रहने भन्दै उहाँले यसबाट बच्ने विभिन्न उपाय बताउँदै त्यसमध्ये भीडमा जाँदा मास्क लगाउनुपर्ने बताउनुभयो। अस्पतालले गर्नुपर्ने कार्य संघले गरेकोमा धन्यवाद दिँदै उहाँले आउँदा दिनमा थप सहयोगको आशा व्यक्त गर्नुभयो। संघ सचिव विष्णुगोपाल महर्जनले संघले जिल्लाका विभिन्न स्थानमा ५ हजार मास्क बितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो।