पबित्र तपोभूमि कालञ्जर पर्वत सडकले जोडिदै



दुर्गाप्रसाद शर्मा, पर्वत ।

धर्मग्रन्थहरुमा पबित्र धार्मिकस्थलको रुपमा ब्याख्या गरिएको कालञ्जर पर्वत सडक सञ्जालमा जोडिने भएको छ। पर्वतको उत्तरपुर्बी क्षेत्रमा पर्ने कालञ्जर पर्वतको हम्पाल जलजला सम्म पुर्याउनका लागि सडक निर्माण शुरु भएको छ ।

सामुन्द्रिक सतहदेखि ३ हजार ३ सय मिटर उचाईमा रहेको हम्पाल पुर्याउनका लागि जलजला गाउँपालिकाले सडक निर्माण गरिरहेको छ । शालिजाको ओख्रेनीहुँदै हम्पालसम्म सडकको ट्रयाक खोल्ने काम भैरहेको छ ।

ट्रयाक खोल्न डेढ किलोमिटर मात्रै रहेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । ‘धार्मिक, पर्यटकीय र आकर्षक ठाउँ भएपनि शालिजाको तारेबाट तीन घण्टा पैदल हिडेर मात्रै पुग्न सकिने हम्पालमा सडक पुगेपछि त्यहाँ जान सहज हुनेछ । ’

अध्यक्ष मल्लले भन्नुभयो ‘आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म कालाञ्जर भुमिमा बिश्वभरका हिन्दुधर्मावलम्बीलाई भित्राउनका लागि आयोजना गरिएको बृहत महायज्ञलाई लक्षित गरेर तत्काल सडक निर्माण गर्नुपरेको हो ।’

जलजला गाउँपालिकाले हम्पालसम्म सडक पुर्याउनका लागि केही हप्ताअघि सम्पन्न गाउँसभाबाट २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । हम्पाल जाने धेरैको इच्छा भएपनि सडकको असुविधाले जान नपाएका धार्मिक तथा अन्य पर्यटकलाई सहज हुने अध्यक्ष मल्लले बताउनुभयो ।

उहाँले धार्मिक रुपमा र विभिन्न पुराण तथा हिन्दु धार्मिक शास्त्रमा समेत कालाञ्जर क्षेत्रको बर्णन गरिएकोले कालाञ्जर क्षेत्र धार्मिक रुपमा महत्वपूर्ण रहेको बताउनुभयो ।

विभिन्न पुराणमा वर्णन गरिए पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै १०८ श्रीमदभागवत तथा विराट ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो ।

हिन्दु धर्मग्रन्थहरुमा पवित्र तपोभूमिका रुपमा व्याख्या गरिएको कालाञ्जर पर्वतलाई अहिले हम्पाल भनेर पनि चिनिन्छ । वैशाखमा आयोजना गर्न लागिएको महायज्ञमा आउने श्रद्धालु भक्तजनहरुलाई आवागमनमा सहजता प्रदान गर्न हम्पालसम्म मोटरबाटो र यज्ञस्थलमा बिजुलीको व्यवस्था जलजला गाउँपालिकाले गर्ने भएको छ ।

हिन्दु धर्मग्रन्थहरुमा पवित्र तपोभूमिका रुपमा व्याख्या गरिएको कालञ्जर पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्ध प्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रुपमा उल्लेख गरिएको पाइन्छ ।

हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमिका रुपमा र तपस्यास्थलका रुपमा रहेको मानिन्छ । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणहरुमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरे त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।

कालाञ्जरबाट आँखै अगाडि सेतै टल्किने धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायतका १६ भन्दा बढी हिम चुचुराहरु अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्त हेर्नका लागि पनि हम्पाल क्षेत्र उपयुक्त छ ।

प्रतिक्रिया दिनुहोस्