वैदेशिक रोजगारमा जाने युवालाई रोक्न अनुदान

0
Shares

सिन्धुली, (नेस)

बेरोगारीको समस्या समाधान गर्न र वैदेशिक रोजगारीमा जाने युवालाई गाउँमै राख्न गाउँपालिकाले पशुपालनका लागि अनुदान दिने भएको छ।

हरिहरपुरगढी गाउँपालिकाले यसै आर्थिक वर्षमा गाई, बाख्रा तथा बंगुर किसानलाई अनुदानमा बाढ्न लागेको हो। गाउँपालिकाले यसका लागि १ करोड बजेट विनियोजन गरेको छ।

‘गाउँपालिकाको वडा नं. १, ४, ५ मा उन्नत जातको बाख्रा, वडा नं. २, ३ मा बंगुर र वडा नं. ६, ७, ८ मा उन्नत जातको गाई अनुदानमा वितरण गर्ने कार्यक्रमका लागि बजेट बिनियोजन गरिएको हो’, गाउँपालिका अध्यक्ष कार्साङ लामाले बताउनुभयो– ‘हामीले कृषिलाई प्राथमिकतामा राखेर योजना बनाएका छौं। गाउपालिकामा जुन पशुपालन गर्न सम्भावना छ त्यहीअनुसार योजना बनाएका हौं।’

‘किसानको ४० प्रतिशत लगानी र गाउँपालिकाको ६० प्रतिशत अनुदान रहने गरी हामीले वितरण गर्ने योजना बनाएका छौं। गाउँपालिकाले मात्रै लगानी गर्दा किसानले आफ्नो पैसा परेको छैन भनेर अलि महत्व दिएर पाल्दैनन् कि भनेर हामीले किसानको पनि लगानी हुने गरी वितरण गर्न खोजेका हौं।’ –उहाँले भन्नुभयो।

गरिब, विपन्न, दलितलगायत पिछडिएका वर्गलाई नै प्राथमिकतामा राखेर अनुदान दिन लागेको छ। नमुनाको रूपमा भएकाले अहिले एक किसानबराबर एउटा गाई वितरण गर्न थालिएको र यो योजना सफल भएमा किसानको योजना र क्षमताका आधारमा अरू पनि वितरण गर्ने गाउँपालिकाले बताएको छ।