कोरोना भाइरसबारे सचेतना छर्दै कञ्चनपुरका स्थानीय तह



कञ्चनपुर ।

कोरोना भाइरसबारे कञ्चनपुरका स्थानीय तहले सचेतना अभियान सञ्चालन गरेका छन् । सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहले मेला, महोत्सव, सभा, गोष्ठी, दिवसलगायत कार्यक्रम स्थगत गरेका छन् । “मित्रराष्ट्र चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइसको सङ्क्रमणको जोखिमबाट सावधानी अपनाउनका लागि स्थानीय तहले सर्वसाधारणलाई जागरुक बनाउन थालेका हुन् । ज्वरो आउने, खोकी लाग्ने, टाउको वा घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने अवस्थामा नजिकको स्वास्थ्य संस्थामा जान भनेका छौँ”, शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “कोरोना भाइरस भित्रिन नदिनका लागि पूर्वसतर्कता अपनाउन लगाएका छौँ ।”

होलीका अवसरमा जमघट नहुने, समूहमा होली नखेल्न र जथाभावी रुपमा रङ नदल्नसमेत सर्वसाधारणलाई सतर्क बनाइएको उहाँले बताउनुभयो । कोरोना भाइरसबाट बच्नका लागि हात नमिलाउने, टाढैबाट नमस्कार गर्ने, साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, श्वासप्रश्वासका बिरामी नजिक नजानेलगायतका कुरासमेत नगरवासीलाई जानकारी गराइएको उहाँको भनाइ छ । “मास्कको कालोबजारी गर्नेहरुलाई समेत कानूनी कारवाही गर्छौं”, उहाँले भन्नुभयो, “अहिलेसम्म मास्कको कालोबजारी भने गरेको पाइएको छैन ।”

बेलौरी नगरपालीकाका प्रमुख पोतिलाल चौधरीले भारतीय सीमा जोडिएको नगरपालिका भएकाले नगरवासीलाई कोरोना भाइरसबारे सचेत पार्न थालिएको बताउनुभयो । “भारतमा कोरोना भाइरसका बिरामीदेखि सकेका छन्”, उहाँले भन्नुभयो, “भारतबाट भित्रिने नागरिकको स्वास्थ्य जाँचका लागि बैशाखा भन्सार नाकामा स्वास्थ्य डेस्क राख्न लागेका छौँ । शङ्कास्पद रोगीहरुमाथि निगरानी राख्ने कार्यसमेत भइरहेको छ ।”

भीमदत्त नगरपालिकाले कोरोना सङ्क्रमणलाई मध्यनजर गरी ब्रह्मदेव र झोलुङ्गे पुलमा स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क राख्ने तयारी गरेको छ । भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले ब्रह्मदेव र झोलुङ्गे पुलमा डेस्क राख्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमण फैलिएपछि पश्चिमी सीमा नाका गड्डाचौकीमा यसअघि नै स्वास्थ्य जाँच शुरु गरिएको छ ।

गड्डाचौकीस्थित हेल्प डेस्कले भारतबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँच गर्दै आएको छ । गड्डाचौकीमा दुई वर्षदेखि हेल्थ डेस्क सञ्चालन हुँदै आएको छ । डेस्कमा दैनिक छ सयदेखि हजारभन्दा बढीको स्वास्थ्य जाँच हुँदै आएको छ । हालसम्म कोरोना भाइरसका बिरामी भने देखा नपरेको डेस्कका स्वास्थ्यकर्मीको भनाइ छ ।

विपद् व्यवस्थापन समितिले गड्डाचौकीबाहेक ब्रह्मदेव र झोलुङ्गे पुल भएर पनि भारतबाट आउने भएकाले हेल्थ डेस्क राख्ने तयारी गरिएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । कोरोना सङ्क्रमण अहिलेको विश्वव्यापी समस्या हो । “त्यसबाट जोगिन प्रचारप्रसार र सचेतनाका कार्यक्रम आवश्यक छन्”, नगरप्रमुख विष्टले भन्नुभयो, “त्यसका लागि भारतबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँचका लागि गड्डाचौकीमा स्वास्थ्य जाँच भइरहेको छ, त्यसबाहेक ब्रह्मदेव र झोलुङ्गे पुलबाट आउने व्यक्तिका लागि पनि हेल्थ डेस्क राख्ने तयारी गरिएको छ ।”

भारतसँग सीमा जोडिएको पुनर्वास नगरपालिकाले समेत कोरोना भाइरसबाट जोगिनका लागि जनचेतनामूलक प्रचारप्रसारमा जोड दिएको छ । नगरप्रमुख जीवनराज थापा स्थानीय बासिन्दाको घरदैलोमा पुगेर कोरोना भाइरसबारे जनचेतना फैलाउन आफैँ खटिनुभएको छ । वास्थ्यकर्मी र जनप्रतिनिधिको टोलीसहित घरदैलोमा पुगेर जनचेतना छर्नमा लाग्नुभएका नगरप्रमुख थापाले रोग लाग्नुअघि नै रोकथामका उपाय अवलम्बन गरिए कोरोनाको भाइरस सर्नबाट स्थानीयवासीलाई बचाउन सकिने बताउनुहुन्छ ।

नेपाल–भारतका नागरिक आवतजावत गर्ने सीमा क्षेत्रमा आवश्यक औषधि र जाँच गर्ने उपकरणसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिने उहाँको भनाइ रहेको छ । बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिका र महाकाली नगरपालिकाले कोरोनाबारे स्थानीयवासीलाई सचेत पार्दै आएका छन् । सभा, गोष्ठी र सार्वजनिक समारोह लगायतका सबै कार्यक्रम स्थानीय तहले स्थगन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्