कोरोनाविरुद्ध नेपालमा शीघ्रताशीघ्र तयारीको आवश्यकता

0
Shares

नेपालको नजिकै रहेको छिमेकी राष्ट्र चीनबाट शुरू भएको कोरोना भाइरसको महामारी विश्वका अधिकांश देशमा फैलिसक्दा पनि नेपाल सरकार अझै पनि यस समस्याप्रति आवश्यक मात्रामा गम्भीर भएको देखिँदैन। अवश्य पनि चीनमा रहेका नेपालीहरूलाई त्यहाँबाट ल्याएर भक्तपुको खरिपाटीमा सम्पूर्ण सुविधासहित क्वारेन्टाइनमा राख्ने काम भने प्रशंसनीय नै रह्यो।

तर, परिस्थिति विकराल हुनसक्ने आधारमा सर्वोच्च अदालतले समेत परिस्थितिको जाँच पड्तालपछि आवश्यक परेको खण्डमा विदेशी हवाई उडानमाथि रोक लगाउन आदेश दिइसकेको छ। निर्वाध रूपमा चीनलगायत अन्य मुलुकका पर्यटक भित्रिन दिनु नै सरकारको ठूलो कमजोरी हो। यदि, नेपालमा दक्षिण कोरियामा जति मात्र महामारी फैलिने हो भने पनि नेपाल सरकार चिकित्सकीय, प्रविधिक तथा पूर्वाधारको आधारमा त्यसलाई सामना गर्न सक्ने स्थितिमा छैन।

तसर्थ, विकराल समस्या सिर्जना भएपछि स्वास्थ संकटकाल लगाएर यसको रोकथाम, नियन्त्रण, उद्धार र उपचारको झ्याली पिट्नुभन्दा यस महामारीलाई शुरू नै हुन नदिनेतर्फ सरकारको ध्यान केन्द्रित हुनु अत्यावश्यक रहेको छ। हुनत कोरोना भाइरसको सम्भावित महामारीलाई मध्यनजर राख्दै निकै ठूलो तामझामका साथ मनाइन लागेको भ्रमण वर्ष २०२० लाई औपचारिक रूपमा स्थगन गरेर सरकारले बुद्धिमानी देखाइसकेको छ।

साथै, विद्यालयको वार्षिक परीक्षा पूर्वनिर्धारित कार्यक्रमभन्दा अघि सारेर चाँडै बिदा दिने शिक्षा मन्त्रालयको निर्णय ठीकै देखिए पनि परीक्षाकै दौरानमा आउन सक्ने विपत्को सामना गर्न पनि जनशक्ति र स्वास्थ्य टोली तयारीको अवस्थामा राखिनुपर्छ।