‘टेक अफ’ का लागि तयार भएको विमानभित्र परेवा उडेपछि…



शुक्रबार अहकदावादबाट जयपुरका लागि उड्न लागेको विमानभित्र परेवा फेला परेको हो । ‘जी८–७०२’ विमान ‘टेक अफ’ का लागि तयार हुँदै गर्दा परेवा देखेपछि यात्रु र विमानका सदस्यहरु चकित भएका थिए ।

परेवा वेमानभित्र यता उता उडेको देखेर यात्रु र कर्मचारी मख्ख परेका थिए भने कतिले भिडियो समेत बनाएका थिए ।

शुक्रबार दिउँसो ४ः३० बजे एप्रोनमा ल्याइएको उक्त विमानमा सबै यात्री चढिसकेपछि ढोका बन्द गरिएको थियो । ४ः५० बजे ‘टेक अफ’का लागि रन वेमा पुग्नु अघि नै उक्त विमानभित्र परेवा देखिएको हो ।

विमानमा सवार यात्रीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले एक यात्रीले ‘ह्यान्ड ब्याग’ राख्नका लागि ‘लगेज शेल्फ’ खोल्नासाथ परेवा निस्किएको जनाएका छन् ।

विमानका कर्मचारीले ‘ग्राउन्ड स्टाफ’लाई घटनाबारे जानकारी गराएपछि विमानको उडान स्थगित गरी ढोका खोलियो । निकै मेहनतपछि उक्त परेवालाई बाहिर निकाल्न सफल भएको यात्रुहरुको भनाइ छ ।

परेवालाई निकालेपछि निर्धारित समयभन्दा केही ढिलोगरी उक्त विमान जयपुरका लागि प्रस्थान गरेको थियाे ।

तर, अझैँसम्म परेवा त्यहाँ कसरी पुग्यो भन्ने प्रष्ट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्