श्रवणशक्तिले शैक्षिक विकासमा पारेको असर



भावना आचार्य
के सुनाइको कमीले बालबालिकाको शैक्षिक विकासमा अवरोध परेको जानकारी हामीलाई छ त ? मानिसका पाँच इन्द्रियमध्ये कान पनि एक हो। आज विश्वका करिब पाँच प्रतिशत जनसंख्यामा सुनाइको कमी भएको तथ्याङ्क छ। नेपालमा पनि दिन–प्रतिदिन सुनाइ क्षमतामा समस्या हुनेको संख्या वृद्धि हुँदै गइरहेको छ।
डब्लुएचओका अनुसार २५ डेसिबलभन्दा माथिको आवाज सुन्ने श्रवणशक्तिमा हुने कमीलाई सुन्न सक्ने ध्वनिको एकाइअनुसार सुनाइ क्षमताको कमीलाई चार समूहमा विभाजन गरेको छ। जसमा श्रवणशक्तिमा हल्का कमी, मध्यम कमी, गम्भीर कमी र गहिरो कमी पर्दछ। नेपालको सन्दर्भमा ६५ डेसिबलभन्दा माथिको आवाज मात्रै सुन्नेलाई सुस्त श्रवण भनिन्छ। श्रवणशक्तिमा हल्का कमी हुने बालबालिकालाई पनि भाषा र सञ्चारमा ठूलो नकारात्मक असर पारेको छ। जसको कारण श्रवणशक्ति सुस्त भएका बालबालिकाको शिक्षामा पनि गम्भीर असर पर्ने गरेको छ।
सुस्त श्रवण क्षमता भएका बालबालिकाको समयमै पहिचान गरी श्रवण यन्त्र दिएको अवस्थामा राम्रो शिक्षा पाउनुका साथै सामाजिक जीवन बलियो बन्छ। जसका कारण भविष्यमा उनीहरू पनि कान सुन्ने बालबालिकासरह लेखपढ गरेर आफ्नो पहिचान नलुकाई जिम्मेवार नागरिक बन्न सक्छन्।

सुस्त श्रवण क्षमता भएका बालबालिकाको समयमै पहिचान गरी श्रवण यन्त्र दिएको अवस्थामा राम्रो शिक्षा पाउनुका साथै सामाजिक जीवन बलियो बन्छ। जसका कारण भविष्यमा उनीहरू पनि कान सुन्ने बालबालिकासरह लेखपढ गरेर आफ्नो पहिचान नलुकाई जिम्मेवार नागरिक बन्न सक्छन्।

सुनाइ क्षमतामा कमी धेरै कारणले आउने गर्छ। जस्तै– वंशाणुगत, बिरामी तथा संक्रमण, बाह्य वस्तुहरू, कानेगुजी जम्मा हुने, लामो समयसम्म ठूलो आवाजमा रहनु, जन्मजात, समय नपुगी जन्मेको बच्चा, कडा जन्डिस आदि। सुनाइको कमीकै कारण धेरै बालबालिकाको बोली ढिलो आउने कारणले शिक्षामा पनि ठूलो प्रभाव पारेको छ। सुनाइको कमीले विशेषतः बालबालिकाको बोली, भाषा र सञ्चारमा ठूलो असर पारिरहेको छ। विकसित देशहरूमा कान कम सुन्ने बालबालिका पनि सुन्ने बालबालिकासरह हुर्के÷बढेका हुन्छन्। किनकि विकसित देशमा बालबालिका जन्मेको तीन साताभित्र कानको सुनाइ क्षमता थाहा पाउने अडियोग्राम टेस्ट गरिन्छ र सुनाइ कमीको आधारमा श्रवण यन्त्र लगाउने गरिन्छ। तर नेपालजस्तो विकासोन्मुख देशमा अझै पनि यो व्यवस्था हुन सकिरहेको छैन। पीडित परिवारबाहेक अन्य व्यक्तिलाई सुस्त श्रवणबारे जानकारी नै भएको पाइँदैन।

विकसित देशहरूमा सुनाइको कमीसम्बन्धी धेरै जनचेतनाको कार्यक्रम सञ्चालन हुँदै आएको छ। तर नेपालको सन्दर्भमा आफ्ना बालबालिकाले कान सुन्दैनन् भनेर ढिलो थाहा पाउने गरिएको छ। जनचेतना र प्रविधिको प्रयोगमा जोड दिनुपर्ने भए पनि त्यसो हुन सकिरहेको छैन। पहिलो कुरा त अभिभावकलाई आफ्ना छोराछोरीमा यो समस्या छ कि छैन, जानकारी कम हुने गरेको छ। अर्कातिर अभिभावकले तीन÷चार वर्ष पुगेपछि मात्र थाहा पाउँछन्। सानैमा थाहा पाउने अभिभावकले पनि उपचार धेरै महँगो हुने पीडा झेल्दै आएका छन्। डिजिटल श्रवण यन्त्र हाल्न न्यूनतम ५० हजारदेखि ६ लाखसम्म पर्ने गरेको छ। यदि बालबालिकामा ९० डेसिबलभन्दा बढी सुनुवाइको कमी छ भने एउटा कानमा क्लियर इम्प्लान्ट गर्न करिब १३ लाख रुपियाँ लाग्छ। बालबालिकाकोे मानसिक विकासको लागि दुईवटा कानमा गर्दा अझ धेरै राम्रो हुन्छ। तर नेपालीको कुल जनसंख्याको २५.२ प्रतिशत जनता अझै पनि गरिबीको रेखामुनि छन्।
नेपालको सन्दर्भमा श्रवण यन्त्र निकै महँगो छ। श्रवण यन्त्र लगाइसकेपछि भाषाको विकासको लागि स्पिच थेरापी गराउनुपर्छ। नेपालमा एकपटक स्पिच थेरापी गर्नको लागि न्यूनतम ६ सय रुपियाँ लाग्छ। भाषा विकासको लागि स्पिच थेरापी पटक–पटक गरिरहनुपर्छ। यन्त्र बिग्रिएको खण्डमा एकपटक बनाउन न्यूनतम ६ हजार रुपियाँ लाग्छ। कानमा श्रवण यन्त्र लगाए पनि सुस्त श्रवणको समस्या समाधान नहुने हँुदा बालबालिकाको शिक्षामा ठूलो नकारात्मक प्रभाव परेको छ। भाषाको राम्रो विकास नभएसम्म बालबालिकाले विद्यालयको वातावरण बुझ्दैनन्। सुस्त श्रवण भएका बालबालिकाले अन्य बालबालिकासरह संसार हेर्न सक्छन् तर बुझ्न सक्दैनन्। शिक्षक–शिक्षिकालाई पनि सुस्त श्रवण भएका बालबालिकालाई आवश्यक पर्ने विषयमा निकै कम ज्ञान छ। यही ज्ञानको कमीले गर्दा विद्यालयमा शिक्षक–शिक्षिकाले बच्चाले कान सुन्दैन भनेर बेवास्ता गरिदिने गरेका छन्। श्रवण यन्त्र लगाएकाले अरू विद्यार्थीसरह कान सुनिहाल्छन् भन्ने गलत धारणा रहेको छ।

आज पनि सुस्त श्रवण भएका बालबालिका कक्षाकोठामा अन्यौलको भरमा आफ्नो शैक्षिक यात्रा अगाडि बढाइरहेका छन्। यो उनीहरूको बाध्यता पनि हो। श्रवण अपाङ्गता एउटा अदृश्य अपाङ्गता हो। श्रवण यन्त्र प्रयोगपछि पनि सुस्त श्रवणको धेरै आवश्यकता हुन्छन्। जस्तै– सुस्त श्रवणसँग मुखामुख गरेर बिस्तारै र स्पष्टसँग बोल्नुपर्छ। कक्षाकोठा उज्यालो हुनुपर्छ। कक्षाकोठा शान्त हुनुपर्छ। कान कम सुन्ने हुनाले शैक्षिक सामग्री हेर्न र छुन मिल्ने खालको हुनुपर्छ। शिक्षकले हरेक विद्यार्थीलाई उत्तिकै महत्व दिनुपर्छ।

त्यसैले सबै विद्यार्थीलाई उत्तिकै महत्व दिई शिक्षा प्रदान गर्नु हरेक शिक्षकको धर्म हो। सुस्त श्रवण भएका बालकालिकाको शैक्षिक विकासको लागि शिक्षकले पनि तालिम लिन जरुरी छ। अभिभावक र शिक्षकले समयमा नै सुस्त श्रवणको बारेमा जानकारी लिन जरुरी छ। जसको कारण सुस्त श्रवण भएका बालबालिकाले भविष्यमा पश्चात्ताप मान्नुपर्ने अवस्था अन्त्य होस्।
सुस्त श्रवण भएका बालबालिकाको उचित स्वास्थ्य उपचार गर्नु सरकारको दायित्व र कर्तव्य हो। सुस्त श्रवणको बारेमा हरेक गाउँमा जनचेतना जगाउनु उत्तिकै आवश्यक छ। कुन–कुन कारणले सुनाइको कमी हुन्छ भनेर देशव्यापीरुपमै जनचेतनाको कार्यक्रम सञ्चालन गर्नुपर्छ। त्यसै गरी सरकारले अभियानकै रुपमा हरेक बच्चा जन्मेको ३ हप्तादेखि ६ हप्ताभित्रमा कानको अनिवार्य जाँच गराउने व्यवस्था मिलाउनुपर्छ। सरकारले सुस्त श्रवण क्षमता भएका बालबालिकाको उपचार सहज र सर्वसुलभ बनाउन ध्यान दिनुपर्छ। अपाङ्गता भइसकेपछि अपाङ्गता भत्ता दिनुभन्दा सरकारले बेलैमा अपाङ्गता हुनबाट रोक्नतर्फ कार्यक्रम सञ्चालन गर्दा राज्यलाई ठूलो फाइदा हुन जान्छ। सबै बालबालिकाको हक–अधिकारको सुनिश्चितता गर्ने काम पनि सरकारकै हो। समाजमा सबै बालबालिकाले समान ढंगले आफ्नो अधिकार प्रयोग गर्ने वातावरण हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्