खसीबोका ज्यूदै जोखेर खरीदबिक्री

0
Shares

लिला सुनुवार, ओखलढुंगा ।
ओखलढुंगामा किसान र व्यापारीबीच पहिलोपटक खसीबोका ज्यूदै जोखेर खरीदबिक्री हुन थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले किसान र व्यापारीबीच सम्बन्ध विकाससम्बन्धी छलफल चलाएपछि खसीबोका जोखेर खरीदबिक्रीको शुरुआत भएको हो ।
खसीबोका जोखेर खरीदबिक्री गर्ने कार्यक्रमको शुभारम्भ सिद्धिचरण नगर–१० का वडाध्यक्ष दामोदर धमलाले गरेका हुन् । उनले सोही वडामा रहेको नमुना बाख्रापालन समूहमा एक कार्यक्रमका बीच अगुवा किसान किसान घनश्याम बास्तोलाका खसीबोका जोखेर खरीदबिक्रीको सुरुवात गराएका हुन् ।
खसीबोका जोखेर खरीदबिक्री गर्ने कार्यक्रमकै अवसरमा बाँस्तोलाले २ लाख ८ हजार ६ सय रुपैयाँ बराबरको १९ वटा खसीबोका बिक्री गरेका छन् । उनले खरी जातका ९ वटा बोका, जमुना पारी जातका ५ वटा खसी र बोयर जातका ५० प्रतिशत क्रसका ५ वटा खसीबोका व्यापारीसँग हाताहाती बिक्री गरेका हुन् ।
प्रतिकेजी खरी जातका खसीबोकालाई ४ सय ८० रुपैयाँ, जमुना पारी जातका खसीबोकालाई ५ सय २० रुपैयाँ र बोयर जातका खसीबोकालाई ६ सय ५० रुपैयाँका दरले खरीदबिक्री भएको छ । तौलमा लादी, रौँ, खुर, सिङ केहीपनि ह्रासकट्टी नगरी खरीदबिक्री भएको हो ।
किसानको घरमै पुगेर व्यापारीले खसीबोका जोखेर खरीद गरेपछि किसानहरु खुसी भएका छन् । ‘अनुमानकै भरमा मोलतोल गरेर खसीबोका बिक्री गर्दा हामी ठगिँदै आएका थियौँ,’ अगुवा किसान बास्तोलाले भने, ‘जोखेर कारोबार गर्ने भएपछि हामीले वास्तविक मूल्य पाएका छौँ ।’
खसीबोका व्यापारी धमलाले नयाँ कामको सुरुवात भएको बताए । अरु समूहमा पनि आफू खसीबोका जोखेर कारोबार गर्न तयार रहेको उनको भनाई छ ।
समृद्धिले केही साताअघि समूहमा किसान र व्यापारीबीच सम्बन्ध विकास सम्बन्धी छलफल चलाएपछि खरी, जमुनापारी र बोयर जातका खसीबोका जोखेर खरीदबिक्री गर्न सहमत भएका थिए ।
पहिलो चरणमा बाख्रापालन हुँदै आएका क्षेत्रमा क्लष्टर निर्माण गरेर सो क्षेत्रका किसानसँग आयोजना सम्बन्धी अभिमुखीकरण गरेर बजार व्यवस्थापनको क्षेत्रमा समृद्धिले सघाउ पु¥याउन थालेको छ ।