झापामा आत्महत्या गर्ने बढे

0
Shares

उत्तम नेपाल, भद्रपुर ।
पछिल्लो समय झापामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको तथ्यांकअनुसार झापामा वर्षेनी आत्महत्याको दर बढ्दै गएको हो ।
तीन वर्षीय तुलना गर्दा झापामा हरेक बर्ष आत्महत्या गर्नेको सङ्ख्या बढेको तथ्याङ्कले पुष्टि गरेको छ । आर्थिक बर्ष ०७३।०७४ मा २ सय ३० जना, ०७४।०७५ मा २ सय ४७ जना , ०७५।०७६ मा २ सय ८८ र चालु आर्थिक वर्षको माघसम्म मात्र ६७ पुरुष र २४ महिला गरी ९१ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अधिकांश किशोर अवस्थाका युवायुवती रहेको बताइएको छ । प्रहरीले आत्महत्याविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि आत्महत्याको दर बढ्दै जानु समाजका लागि चिन्ताको विषय भएको प्रहरीले जनाएको छ ।
विभिन्न विद्यालय तहमा नै आत्महत्याविरुद्धका सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि पछिल्लो समय आत्महत्या दर बढ्नुले चुनौती थपिएको जिल्लाका एसपी कृष्णप्रसाद कोइरालाले बताउनुभयो । सामाजिक सञ्जालमा जथाभावी अश्लील कुराकानी गर्ने र अन्त्यमा असमझदारी बढ्दा त्यसले आत्महत्याको बाटो रोज्ने गरेको कतिपय घटना फेला परेको उहाँको भनाइ छ । महत्वाकांक्षी बन्दा पनि धेरैले आफ्नो उद्देश्य पूरा गर्न नसक्दा मृत्युको बाटो रोज्ने गरेको पाइएको छ ।
बढ्दो आत्महत्या प्रहरीलाई चुनौती बन्दै गएपछि आत्महत्या न्यूनिकरण गर्न सचेतना मुलक अभियान जारी राखेको छ । प्रहरीले विषेश रुपमा विद्यालयमा आत्महत्या न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको कोइरालाको भनाइ छ ।
आत्महत्या गर्नुमा असफल प्रेम, लागूऔषधको प्रयोग, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोग लगायत रहेको प्रहरीको भनाइ छ । बाल्यकालदेखि नै सकारात्मक विषयमा आफ्ना बालबच्चालाई शिक्षा दिनुपर्ने र नकारात्मक विचार राखेमा तुरुन्त उसलाई मनोपरामर्श दिएर सकारात्मक बाटोमा लगाउनुपर्ने धारणा विज्ञहरुको छ ।