होटलका ६० प्रतिशत कोठा खाली

0
Shares

सरोज यादव, विराटनगर ।
नेपाल भ्रमण वर्षले पर्यटन व्यवसायीमा अझै खुसी ल्याउन सकेको छैन । विगतभन्दा भ्रमण वर्षमा झनै पर्यटन क्षेत्र खस्किएको प्रदेश–१ का व्यवसायी बताउँछन् ।
‘हाम्रा लागि भ्रमण वर्ष ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ जस्तै भएको छ’, पर्यटन व्यवसायी पुण्य भट्टराई भन्नुहुन्छ– ‘भ्रमण वर्षले हालसम्म खुसीको सञ्चार गर्न सकेको छैन ।’ संघीय र प्रदेश सरकारले ठूलै तामझामका साथ भ्रमण वर्षको शुभारम्भ गरेको थियो । प्रदेश–१ सरकारले पनि प्रदेश राजधानी विराटनगरस्थित शहीद रंगशालामा भव्यताका साथ भ्रमण वर्षको उद्घाटन गरेको थियो ।
भ्रमण वर्षको शुभारम्भमा मुख्यमन्त्री शेरधन राईले पर्यटनबाटै प्रदेशको विकासमा कायापलट हुने उद्घोष गर्नुभएको थियो । शुभारम्भपछि प्रदेश सरकारले भ्रमण वर्षका खासै गतिविधिसमेत गर्न नसकेको व्यवसायीको गुनासो छ । ५ लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ । तर, यही अवस्थामा लक्ष्यको आधा पनि पर्यटक नभित्रिने भट्टराईको कथन छ । उहाँकै शब्दमा ६० प्रतिशत कोठा खाली छन् । भारतीय पर्यटकको आवागमन पनि खासै बढ्न नसकेको उहाँँ बताउँनुहुन्छ । ‘होटलका ६० प्रतिशतभन्दा बढी रुम खालि छन्’, भट्टराईले भन्नुभयो– ‘बैंक ब्याज, मजदुर–कर्मचारीको तलब, बिजुली, टेलिफोनलगायतका खर्च धान्नै गाह्रो हुने अवस्था आयो ।’
पर्यटन सधैं आशामा बाँच्नुपर्ने क्षेत्र भए पनि पछिल्लो अवस्थाले व्यवसायी आत्तिएको उहाँले बताउनुभयो । प्रदेशमा ५ सयभन्दा बढी पर्यटकस्तरीय होटल छन् । ती होटलमा कम्तीमा २० हजार कोठा छन् । ती होटलमा १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । विगतको यो सिजनमा भारतीय पर्यटकले आधा कोठा भरिने गरेको अर्का पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ बताउनुहुन्छ ।
सोलुखुम्बु छाडेर अन्य जिल्ला आन्तरिक र भारतीय पर्यटकको भरमा टिकेको छ । भारतीय पर्यटकको आवागनसमेत कम भएपछि व्यवसायी निरास देखिएका छन् । विवाह, ब्रतबन्ध, सरकारी र गैरसरकारी संस्थाहरूले आयोजना गरेका कार्यक्रमले होटलहरू अहिलेसम्म बाँचेको उहाँले बताउनुभयो ।
प्रदेशको पशुपतिनगर, काँकडभिट्टा र जोगबनी नाकाबाट भारतीय पर्यटक भित्रिने गरेका छन् । तीनवटै नाकाबाट दैनिक १ हजारभन्दा बढी पर्यटक भित्रिने गरेकोमा पछिल्लो समय ५ सय जति मात्रै आइरहेका छन् । खास गरी विराटनगरसहित इटहरी, भेंडेटार, नाम्जे, इलाम, कन्याम, फिक्कल, हिले, ताप्लेजुङ, हलेसीलगायतमा पर्यटनमा राम्रै लगानी भएको छ । पछिल्लो दुई वर्षयता मात्रै विराटनगरमा पर्यटन क्षेत्रमा ५ अर्बभन्दा बढी नै लगानी भएको छ ।
सरकारले भ्रमण वर्ष मनाउँदै गरेको र पर्यटकको आवागमन हटेको अवस्थामा आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दँदै ‘पहिला देश घुमौं अनि मात्रै विदेश’ अभियान सञ्चालन गर्नुपर्नेमा व्यवसायी लागेका छन् । सगरमाथा, हलेसी, पाथिभरा, बराहक्षेत्र, दन्तकाली, हिले, तीनजुरे–मिल्के–जलजले, भेंडेटार, इलाम, कन्याम, श्रीअन्तु, राम्जेलगायत पर्यटकीय गन्तव्य छन् । भ्रमण वर्षका लागि नेपाल सरकारले छनौट गरेका एक सय गतव्यमध्ये १६ वटा प्रदेश–१ मा पर्दछन् । प्रदेश–१ सरकारले आगामी ५ वर्षभित्र पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादन ५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । प्रदेशको आवधिक योजनामार्फत अघि सारेको योजना पूरा हुने संकेत नदेखिएको पर्यटन व्यवसायीहरूको भनाइ छ ।