समाचार प्रभाव: सुभद्रा दर्नालको घर निर्माण अन्तिम चरणमा

0
Shares

कृष्णउदास खनाल, हेटौंडा ।
नेपालमा भएका विभिन्न परिवर्तनका आन्दोलनमा चार भाइ छोरा गुमाउनु भएकी हेटौंडा उपमहानगरपालिका ९ कि ७० वर्षीया सुभद्रा दर्नालको घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
गत भदौमा सुभद्रा दर्नालले झेल्नु भएको दर्दनाक व्यथा नेपाल समाचारपत्रमा प्रकाशित भएपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सुभद्रा दर्नालको घर बनाई दिने प्रतिबद्धता जनाएअनुसार मेयर महतकै अगुवाइमा निर्माण शुरू भएको घर अन्तिम चरणमा पुगेको हो। मंसिर १५ गतेबाट निर्माण शुरू भएको घर अबको १५ दिनभित्र सकिने लक्ष्य लिइएको निर्माणमा संलग्नहरूले बताएका छन्।
मेयर महतले सुभद्रा दर्नालको घर तीव्रगतिमा बनाउनका लागि निर्देशन दिएलगत्तै घर निर्माणको काम अन्तिम चरणमा पुगेको हो। घर छाउन मात्रै बाँकी रहेको र १५ दिनभित्र घर बनाई सक्ने लक्ष्य लिएको बताइएको छ।
हेटौंडा उपमहानगरपालिकाका मेयर महतले सुभद्रा दर्नाल आमाको घर निर्माण सम्पन्न गराएर उहाँलाई घरभित्र छिटो बस्ने वातावरण मिलाई रहेको र उहँँ घरभित्र छिरेको दिन आफू बल्ल खुसी हुने बताउनुभयो। जीवनको अन्तिम समयमा राम्रो घरमा बस्न पाउने आफ्नो आशा पूरा भएकोमा सुभद्रा दर्नालले सबैलाई धन्यवाद दिनुभएको छ।
स्मरणीय रहोस्, सुभद्रा दर्नालका पँँच छोराहरूमध्ये जेठा र माइला २०४६ सालमा भएको आन्दोलनमा सहभागी हुने क्रममा बेपत्ता भएका थिए भने काँइलो र कान्छो तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा सहभागी हुने क्रममा मारिएका थिए।
साँहिलो छोरा तीन वर्ष अगाडि बिरामी परेर निधन भएपछि र उहाँका पति नेत्रबहादुर दर्नालको पनि चार वर्ष अघि निधन भएपछि सुभद्रा एक्लै पर्नुभएको थियो। नेपाल समाचारपत्रमा खबर प्रकाशित भएपछि हेटौंडाका मेयर महतले सुभद्रा दर्नाललाई तत्कालीन समयमा पनि सहयोग गर्नु भएको थियो।
उहाँले यस वर्षको दसैँ मनाउनका लागि सबै व्यवस्था मिलाई दिनुभएको थियो। मेयरको सहयोगले आफ्नो घरमा वर्षौंपछि दसैँ आएको अनुभूति सुभद्राले सुनाइ सक्नुभएको छ।