एकै दिन नेपाललाई जापानको तीन सहयोग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । 
नेपालका लागि जापानी राजदूत साइगो मासामिचीले बिहीबार धनकुटा जिल्ला अस्पताललाई ९६ लाखभन्दा बढी रुपियँँ बराबरको अक्सिजन उत्पादन तथा वितरण संयन्त्र हस्तान्तरण गर्नुभयो।
‘यसले बिरामीलाई तत्काल सहज रूपमा अक्सिजन पाउन र अस्पतालको सेवा स्तर बढाउन सघाउनेछ’ –राजदूत साइगोले हस्तान्तरणका क्रममा बताउनुभयो।
धनकुटा अस्पतालले दैनिक दुई सयभन्दा बढी बहिरंग सेवाबाट बिरामीको उपचार गर्दै आएको छ जसमा १५ देखि २० बिरामी भर्ना भएर सेवा लिने गर्दछन्।
यसैबीच जापानी राजदूतावासका मेडिकल प्रतिनिधि डा. सिमिजु आत्सुमीले बिहीबारै पश्चिम रुकुम जिल्लास्थित चौरझारी अस्पतालमा आपत्कालीन विभागको उद्घाटन गर्नुभयो। विभागको निर्माणका लागि ९८ लाख रुपियँँ बराबरको सहयोग जापानले प्रदान गरेको थियो।
चौरझारी अस्पतालमा दैनिक दुई सय स्थानीय व्यक्ति सेवा लिन आउने गर्दछन्। आकस्मिक उपचारका लागि विभाग र पूर्वाधार नहँँदा सामान्य रूपमा उपचार हुँदै आएको थियो।
यसैगरी, जापान सरकारकै सहयोगमा ७ करोड १७ लाख रुपियँँको लागतमा सिन्धुपाल्चोक जिल्लामा कृषि सिंचाइ व्यवस्थाका लागि परियोजना सञ्चालन गर्न सम्झौता भएको छ। पिस विन्डस जापान नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय संस्थासँग मिलेर यो परियोजना सञ्चालन गरिने राजदूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। परियोजना सुनकोसी र मेलम्ची नगरपालिका तथा बलेफी गाउँपालिकामा सञ्चालन हुनेछ।
परियोजनाका लागि राजदूतावासका कन्सुलर योसिओका युजो र पिस विन्डस जापानका प्रतिनिधि यामामोतो युकोबीच बिहीबारै सम्झौतापत्रमा हस्ताक्षर भएको हो।