न्यून चापीय वायुको प्रभावले मौसममा बदली

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपालसहित आसपासमा बनेको विभिन्न न्यून चापीय वायुको प्रभावले गर्दा मौसममा बदली आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि देशको पूर्वी तथा मध्यभूभाग नजिक बनेको चापीय प्रणाली, पश्चिम वायुको प्रभाव, भारतको उत्तर प्रदेश, विहारआसपासमा देखिएको महत्त्वपूर्ण प्रणाली र बंगलादेशको उत्तरी भेगमा बनेको न्यून चापीय प्रणालीले गर्दा मौसममा बदली आएको हो।
मुलुक बाहिरको विभिन्न भेगमा देखिको न्यून चापीय वायुको प्रभावका कारण बंगालको खाडीबाट जलवाष्पसहितको वायुको प्रवाहले नेपालमा मौसम बदली भएको महाशाखाका मौसमविद् राजु प्रधानांगले बताउनुभयो। यस बीचमा हल्कादेखि मध्यम खालको वर्षा भएको उहाँले दाबी गर्नुभयो।
मुलुकभर नै मौसममा बदली भएको महाशाखाले जनाएको छ। ‘केही दिनदेखि विभिन्न न्यून चापीय प्रभावका कारण नेपालको मौसम बदली भएको हो। यसमा बुधबार रातिदेखि क्रमशः सुधार हुँदै जान्छ’ –मौसमविद् प्रधानांगले बताउनुभयो।
पश्चिमी वायु नेपालबाट हटेर पूर्वतिर गएको, अन्य वायु कमजोर हुँदै जाने क्रमले मौसममा बिस्तारै सुधार हुने भनाइ उहाँको छ। न्यून चापीय वायुको प्रभाव पूर्ण रूपमा हटे पनि बढ्दो तापक्रमका कारण स्थानीय वायुको प्रभाव भने कायमै रहने मौसमविद् प्रधानांगले बताउनुभयो।
‘न्यून चापीय वायुको प्रभाव हटे पनि स्थानीय वायुको प्रभाव देखिने सम्भावना छ। जसका कारण मध्य र पश्चिमी भेगमा आंशिक बदली रहे पनि बाँकी भागमा मौसम सफा रहनेछ’ –उहाँले भन्नुभयो।