बजार मात्रै होइन राजनीति पनि स्वच्छ हुनुपर्छः मन्त्री गुरुङ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले व्यवसायमा मात्रै नभएर राजनीति पनि स्वच्छ हुनुपर्नेमा जोड दिनुभयो।
स्वच्छ व्यवसायी समूह नेपाल (फेयर ट्रेड ग्रुप) ले बुधबार काठमाडौं गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको छ।
न्यून आय भएका, सामाजिक तथा आर्थिक रूपले पछाडि परेका, शारीरिक रूपले अशक्त जीवनयापन गरिरहेका व्यक्ति तथा समुदायको जीवनस्तर उकास्ने कार्यमा समर्पित हस्तकला, कृषि खाद्य तथा गैरकाष्ठ वनपैदावर सामग्रीहरू स्वच्छ तवरले उत्पादन र बिक्री गर्ने स्वच्छ व्यवसायी संस्थाहरूको राष्ट्रिय छाता संगठन स्वच्छ व्यवसायी समूहले छलफल कार्यक्रमको आयोजना गरेको थियो।
महिला र अशक्त नागरिकको हितमा काम गर्दै आएको सो सस्थासँग सरकार एवं आफ्नो मन्त्रालय सहकार्य गर्न गरेर अगाडि बढ्न चाहेको समेत मन्त्री गुरुङले बताउनुभयो। ‘नेपालको अर्थतन्त्रको पिलरको रूपमा रहँदै आएको व्यवसायी क्षेत्रमा सरकार सहकार्य गर्न तयार छ।’ –मन्त्री गुरुङको भनाइ थियो।
सरकारले ल्याएको नीतिका कारण केही व्यवसायीहरूमा निराशा पैदा गरेको सरकारले महसुस गरेको भन्दै हामी नितान्त नयाँबाटोमा हिँडेको हुँदा केही असजिलो भएको हुन सक्ने तर ती असजिला पनि सरकारले सम्बोधन गर्ने भन्दै व्यावसायी नआत्तिन मन्त्री गुरुङले आग्रह गर्नुभयो।
हालका अर्थ मन्त्री अर्थको क्षेत्रमा विज्ञ भएको हुँदा व्यवसायीहरू हतोत्साहित नहुन मन्त्री गुरुङको आग्रह थियो। हामीले महिलाहरूलाई बोल्न सिकायौं अब गरिखाने बनाउनुपर्छ भन्दै महिलाको हितमा हुने कार्यक्रम आफू र आफ्नो मन्त्रालय सहकार्य गर्न तयार रहेको मन्त्री गुरुङको भनाइ थियो।
महिलाहरूलाई सीप सिकाएर सक्षम बनाउने उद्देश्य साथमा नेपालमा शुरू भएको यस संस्थाले हाल गैरनाफामूलक क्षेत्रमा काम गर्दै आएको संस्थाका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै केसीले सबै गैरसरकारी सस्थालाई एउटै दर्जामा राखेर नहेर्न सरकारलाई आग्रह गर्नुभयो। विदेशी डलरमा चल्ने संस्था र नितान्त नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै न्यून आय भएका भएकाहरूलाई आर्थिक रूपमा सबल बनाउन लागेका संस्थाहरूलाई एउटै नजरबाट नहेर्न उहाँले आग्रह गर्नुभयो।
नितान्त गैरनाफामूलक अथवा सेवामूलक व्यवसायीको क्षेत्रमा देशका ३० भन्दा बढी जिल्लाहरूका १० हजारभन्दा बढी न्यून आयस्तर भएका उत्पादकहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै र ४५ हजारभन्दा बढीलाई अप्रत्यक्ष रूपमा फाइदा पु¥याई उत्तर अमेरिका, युरोप तथा एसिया प्रशान्त क्षेत्रका २५ भन्दा बढी देशहरूमा हस्तकला, कृषि खाद्य तथा गैरकाष्ठ वनपैदावर उत्पादनहरू निर्यात गर्दै देशको आर्थिक विकासमा टेवा पु¥याउँदै आएको संस्थाले जनाएको छ।