लिच्छविकालीन संस्कृतिमा रमाउँदै पाटनवासी

0
Shares

सुनील महर्जन, ललितपुर ।

धाः बाजा, का बाजाको गुञ्जनले बुधबार पाटन दरबार क्षेत्र आसपासको माहोल गुन्जायमान थियो। देवीदेवता विभिन्न स्थानबाट ल्याउने क्रम जारी थियो। हरेक मानिसमा रौनकता छाएको थियो। त्यही बेला छाय्बहालका संगीता शाक्य ६ वर्षीय छोरालाई दिपंकर बुद्ध र आर्यतारा देवीदेवता भनेर चिनाउँदै हुनुहुन्थ्यो।

महादान पर्वको पहिलो दिन देखिएको यो सम्यक दृश्य थियो। लिच्छिविकाललाई नेपालको स्वर्ण युग मानिन्छ। यही स्वर्ण युगको वैभव संस्कृतिको झ–झल्को दिने ७ सय वर्ष पुरानो सम्यक महादान पर्व बुधबार शुरू भएको हो।

५ वर्षमा एकपटक हुने यस पर्वमा चोभार, कीर्तिपुर र ललितपुर प्राचीन बौद्ध विहारमा रहेका १ सय २६ देवताको मूर्ति प्रदर्शन र पूजाआजाका लागि ल्याइएको थियो। बुधबार विभिन्न बौद्ध विहारबाट ल्याइएका दिपंकर बुद्ध, अवलोकितेश्वर, वसुन्धरादेवी, आर्यतारालगायत देवीदेवतालाई परम्परागत बाजागाजाका साथ इतिल्हने (नागबहाल) मा लगिएको थियो।

आज बिहीबार महाविहारका २० ज्येष्ठ व्यक्ति (बीस स्थविर आजु) ले विशेष पूजाआजा गरी दान दिने परम्परा छ। यही दान दिने कार्य नै पर्वको मुख्य सार रहेको अध्ययेता लोकरत्न शाक्यले बताउनुभयो। हिरण्यवर्ण महाविहार (क्वाबहाः)का लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापनमा सो पर्व आयोजना गरिएको हो।

१८६१ सालसम्म प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सो पर्व १८६२ सालदेखि प्रत्येक ५ वर्षको एकचोटि सञ्चालन हुन थालेको हो। तत्कालीन राजा रणबहादुर शाहले गुठीको जग्गा सरकारी गर्न थालेपछि गुठीको आम्दानी कम भयो। यसले गर्दा ५ वर्षको एकचोटि सो पर्व आयोजना गर्न थालिएको हो। यसपटकको सम्यक महादान पर्व ५३औंं हो।

यस पर्वले दानको महत्त्व, बौद्ध संस्कृति र संस्कारको अभिव्यक्त गरेको संस्कृति अध्येयता लोकरत्न शाक्यले बताउनुभयो। यस पर्व भगवान् गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्त्वसँग सम्बन्धित छ। यस पर्वको शुरुआतसँग एउटा किंवदन्ती चलनचल्तीमा रहेको छ। ठकुरी वंशका राजा भाष्करदेवका एकजना सन्तान समय क्रममा निकै गरिब बन्दै गएका थिए। भरिभारो नाम गरेका ती व्यक्तिले आफ्नो गरिबी लुकाउन गोबर जम्मा गर्न थाले।

भरिभारो गरिब भए पनि बुद्ध धर्मप्रति निकै आस्था र समर्पित थिए। धर्मप्रति आस्थाले गर्दा उनले जम्मा गर्न थालेको गोबरपछि सुनमा परिणत भएको थियो। धर्मकै कारणले सम्पत्ति प्राप्त भएको विश्वास गर्दै सम्यक महादान पर्व आयोजना गरिएको जनविश्वास छ।