पुण्य कमाउने नाममा बढ्दै बालविवाह

0
Shares

विमल विष्ट, डोटी
जिल्लामा पछिल्लो समय बालविवाह घट्नुको साटो बढ्दै गएको पाइएको छ। पुण्य कमाउने नाममा जिल्लामा बर्सेनि बालविवाह हुन थालेपछि बालविवाहले विकराल रूप लिन थालेको हो।
दिपायल सिलगढी नगरपालिका वडा–८ लडागतामा मात्रै गएको तीन वर्षको अवधिमा १ सय ६३ वटा बालविवाह भएको एक संस्थाको तथ्यांकले देखाएको छ। जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सीडीसी) डोटी नामक एक गैरसरकारी संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो संख्यामा बालविवाह भएको पाइएको हो।
उक्त संस्थाले सार्वजनिक गरेको तथ्यांकमा २०७३ मा ३८, २०७४ मा ५६ र २०७५ सालमा ६९ जनाले बालविवाह भएको देखाएको छ। त्यस्तै, २०७३ वैशाखदेखि हालसम्म १ सय ३३ जना बालिका र २७ जना बालकको बालविवाह भएको सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडुले जानकारी दिनुभयो। ‘विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, केहीले लहलहैमा लागेर त केहीले पुण्य कमाउने नाममा बालविवाह गरेको देखिन्छ।’ –उहाँले भन्नुभयो।
बालविवाह जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ। यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति ५, दलित ६०, क्षत्री समुदायमा ९८ जना रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ। मुख्यतया बालविवाह परिवारको दबाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहलहैमा, गरिबी, राम्रो घर–परिवार पाउँदा, चाँडो बिहे गर्ने मान्यता, मेला पर्वमा, भविष्य राम्रो हुने आशामा हुने गरेको छ।
उक्त वडामा हालसम्म परिवारको दबाबले ३१, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, गरिबीले १, राम्रो घरपरिवार पाउँदा ७, चाँडो बिहे गर्ने मान्यतामा ५, मेला पर्वमा १, भविष्य राम्रो हुने आशामा १ तथा अन्य ८० गरी जम्मा १ सय ६३ जनाको विवाह भएको पाइएको जिल्ला संयोजक एकराज बडुले बताउनुभयो।
लडागतामा मात्र नभएर बालविवाह गर्नेहरूको जिल्लाभरिको सर्वेक्षण गर्ने हो भने करिब हजार बढी तथ्यांक निस्किन सक्ने दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहले बताउनुभयो। जिल्लामा बालविवाह र बालश्रमिक अन्त्यका लागि दिपायल सिलगढी नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आए पनि नगरपालिकामा बालविवाह भने रोकिएको छैन।