सातामा रोकियो ८ जोडीको बालविवाह

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुरका विभिन्न स्थानमा गरेर एक सातामा ८ जोडीको बालविवाहमा रोक लगाइएको छ।
भीमफेदी गाउँपालिकामा ५ बालिका २ बालक र २ युवक गरी ९ जना, बकैया गाउँपालिकामा १ बालिका, १ बालक र १ युवक गरी ३ जना, मकवानपुरगढी गाउँपालिकामा १ बालिका र हेटौंडा उपनपामा २ बालिका र १ बालक गरी ३ जना गरी ८ जोडीको विवाह रोक्न सफल भएको सिबिन बाल हेल्पलाइन मकवानपुर जिल्ला संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो।
स्थानीय गाउँपालिका र वडा कार्यालयको नेतृत्वमा प्रहरी, सामाजिक विकास मन्त्रालय, सिबिन बाल हेल्पलाइनसँगको समन्वय र सहकार्यमा बालिकाहरू उद्धारपश्चात् मनोसामाजिक मनोविमर्श सेवाका लागि बाल हेल्पलाइनको संरक्षण गृहमा छन्।
उद्धार गरिएका सबै बालिका विवाह गर्ने ध्येयले घर छाडेर हिँड्नु अघिसम्म विद्यालय निरन्तर गइरहेको स्वयंले बताएका छन्। हेल्पलाइनमा रहेर मनोविमर्श सेवा लिँदै आएका बालिकाहरू केही पश्चाताप महसुुस गर्दै भन्छन्– ‘पहिले हतार र आवेशमा निर्णय लियौं। हामीले राम्रो काम गरेका रहेनछौं। अब घरमै बसेर पढाइ पूरा गर्र्छौं र २० वर्ष पूरा भएपछि मात्र बिहे गर्नेछौं।’
यसरी विवाह गर्ने र गर्न प्रयास गर्ने बालिकाको उमेर समूहलाई हेर्दा २ बालिका १४ वर्षका, ३ जना १५ वर्षका र ३ जना १६ वर्ष उमेरका छन् भने यी बालिकासँग विवाह गर्ने वा गर्न प्रयास गर्ने बालक भने ६ जना २० वर्षमुनिका छन्। २ जना २१ र २२ वर्ष उमेरका छन्।
केटाकेटी दुवै पक्षका अभिभावक र केटाहरूलाई पनि हेल्पलाइनबाट यस विषयप्रति सचेत गराइँदै आइएको हेल्पलाइनकी कार्यक्रम अधिकृत एवं मनोसामाजिक मनोविमर्शकर्ता सम्झना अधिकारीले बताउनुभयो।
शुरूमा बालबालिकाहरू आफूखुसी प्रेम विवाहका लागि घरबाट भागेर हिँड्दा परिवारको आपत्ति रहने र जब उद्धार गरिन्छ तब केहीको परिवार नै बालविवाहलाई समर्थन दिने पक्षमा प्रस्तुत हुने गरेकाले बालविवाह रोक्न चुनौती सामना गर्नुपरेको बाल हेल्पलाइनले बताएको छ।
सामाजिक विकास मन्त्रालय बालविवाहमुक्त प्रदेश सहजकर्ता पबिना लामाले बाग्मती प्रदेशलाई सन् २०८० सम्म बालविवाहमुक्त प्रदेश बनाउने अभियान थालिएको जानकारी गराउनुभयो।
बालविवाह गर्ने यी जोडीहरू मोबाइलमार्फत कुराकानी हुँदै प्रेम सम्बन्धबाट विवाहको निर्णयसम्म पुगेको मनोविमर्शका क्रममा खुल्न आएको छ।