हारे पनि वाचा पूरा

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
पश्चिम मकवानपुरको मनहरी–४ नम्बर वडास्थित मसिनेमा रहेको पशुपतिनाथ मन्दिरका लागि नेपाली कांग्रेसका नेता शंकर न्यौपानेले १ लाख रुपियाँ सहयोग गर्नुभएको छ।
गत स्थानीय तहको निर्वाचनको समयमा कांग्रेसका तर्फबाट मनहरी गाउँपालिका अध्यक्ष उम्मेदवार रहनुभएका न्यौपानेले उक्त समयमा गरेको सहयोगको प्रतिबद्धताअनुरूप १ लाखको चेक हस्तान्तरण गर्नुभएको हो।
पशुपतिनाथ मन्दिर व्यवस्थापन समिति मसिनेका अध्यक्ष शारदा बिडारीलाई नेता न्यौपानेले चेक हस्तान्तरण गर्नुभयो। ‘निर्वाचनको समयमा आवश्यक सहयोग गर्नेछु भनेर प्रतिबद्धता जनाएको थिएँ। चुनाव हार्नु र जित्नु फरक पाटो हो’, उहाँले भन्नुभयो– ‘बोलेका कुरा पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो। सोही क्रममा मन्दिर व्यवस्थापन एवं मर्मत सम्भारका लागि व्यक्तिगत रूपमा सहयोग गरेको हुँ।’
चुनावको समयमा गरेका वाचा आफ्नो क्षमताअनुसार पूरा गर्दै जाने नेता न्यौपानेले प्रतिबद्धता जनाउनुभयो। पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्षले चेक बुझ्दै रकम मन्दिरको विकासमा खर्च गरिने बताउनुभयो। धेरै नेताहरूले चुनावको समयमा गरेका प्रतिबद्धता भुल्ने गरेको स्मरण गर्दै उहाँले नेता न्यौपानेले गरेको सहयोगको प्रशंसा गर्नुभयो।
मसिनमै रहेको पशुपतिनाथ माविका विद्यार्थीले सञ्चालन गरिरहेको महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा १ रुपियाँ सहयोग संकलन अभियानका लागि पनि न्यौपानेले १० हजार नगद सहयोग गर्नुभएको छ।