काठमाडौं महानगरद्वारा सैनिक अस्पताललाई सहयोग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
मिर्गौला रोगीको उपचारका लागि काठमाडौं महानगरपालिकाले वीरेन्द्र सैनिक अस्पताल छाउनीलाई १ करोड ५० लाख रुपियाँ उपलब्ध गराएको छ।
कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले नेपाली सेना कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर केसीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो। सो सेवाका लागि गएको पुस २ गते महानगर र नेपाली सेनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
सम्झौताबमोजिम माघ ७ गतेबाट महानगरको सिफारिसमा हेमोडाइलासिस सेवा शुरू भइसकेको छ। यो सेवा लिनेमा वडा १५ डल्लुकी ६४ वर्षीया चन्द्र महर्जन पहिलो लाभग्राही हुनुहुन्छ। त्यसपछि वडा १५ स्वयम्भूकी ४७ वर्षीया सुवर्णमैयाँ ताम्राकार (स्थापित) र वडा २३ ओमबहालकी ७५ वर्षीया लक्ष्मी श्रेष्ठले हेमोडाइलासिस गराइरहनुभएको छ।
रकम सेवा शुरुआत गर्नका लागि हो। यसपछि सेवा विस्तार गर्न आवश्यक पूर्वाधार, मेसिन तथा उपकरण र जनशक्तिसम्बन्धी नेपाली सेनाले योजनासहितको खाका उपलब्ध गराएपछि कार्य प्रगतिका आधारमा महानगरले थप १ करोड ५० लाख रुपियाँ उपलब्ध गराउनेछ मेयर शाक्यको भनाइ छ।
‘शुरू भएको कार्यक्रमलाई निरन्तर विस्तार गर्दै लगिनेछ, जटिल खालको रोगका लागि विशेषज्ञ उपचारका लागि महानगरले नेपाली सेनासँग सहकार्य गरेको हो। उपचारका क्रममा आवश्यकपर्ने अन्य सेवा थप्दै लगिनेछ’ –उहाको भनाइ थियो।
कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमा डंगोल, सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, वीरेन्द्र सैनिक अस्पताल छाउनीका सहायक रथी नगेन्द्रकुमार केसी, महासेनानी डा.अजय राजभण्डारी, महानगरको जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रबिलास बज्राचार्य, वित्त विभागका
प्रमुख बुद्धरत्न मानन्धरलगायत अधिकारी सहभागी हुनुहुन्थ्यो।
महानगरवासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ।
सम्झौताबमोजिमको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलको सदस्यमा महानगरकातर्फबाट सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ सदस्य र जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रबिलास बज्राचार्य सदस्यसचिव हुनुहुन्छ।
त्यस्तै, नेपाली सेनाका तर्फबाट वीरेन्द्र सैनिक अस्पताल छाउनीका निमित्त ‘कमान्डान्ट’ सहायक रथी नगेन्द्रकुमार केसी र महासेनानी डा. अजय राजभण्डारी सदस्य हुनुहुन्छ। यो कार्यदलले सम्झौताबमोजिमका काम प्रभावकारी रूपमा गर्न र गराउन आवश्यक निर्णय गर्ने, अनुगमन गर्ने, निर्देशन दिने तथा दुवै पक्षसमक्ष नियमित प्रतिवेदन पेस गर्ने, कार्य प्रगतिको समीक्षा गर्ने र आवश्यक नीतिगत निर्णयका लागि सिफारिस गर्नेछ।
सम्झौताबमोजिम मिर्गौला बिरामीहरूका लागि हेमोडाइलासिस सेवासँगै वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी ज्येष्ठ नागरिकका लागि ओपिडी सेवा, आपत्कालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ।